बुद्ध एयर दुर्घटनाः पाँचथरका उमेश मोक्तानले एमर्जेन्सी ढोका खोलेर धेरै यात्रीको ज्यान बचाए

बुद्ध एयर दुर्घटनाः पाँचथरका उमेश मोक्तानले एमर्जेन्सी ढोका खोलेर धेरै यात्रीको ज्यान बचाए
  • १९ पुष २०८२, शनिबार ०८:२६

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका एक सदस्यसहित सात यात्रु घाइते भएका छन्।

mulpatra

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए।

उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए।

उक्त जहाजमा पाँचथरका उमेश मोक्तान पनि थिए । उनैले इमर्जेन्सी झ्यालको ढोका खोलेका थिए । ‘एयर होस्टेज आतिएपछि उनैले धकेल्दिएर जहाजको इमर्जेन्सी ढोकाको बताएका छन् । एयरहोस्टेजले नतान्नु भन्दा भन्दै पनि पछि धकेलिएर इमर्जेन्सी ढोका खोलेकाले सबैले त्यही ढोकाबाट निस्किएर ज्यान जोगाएका छन् ।

घटनाबारे उमेशले भने, ‘ल्यान्ड भइसकेको थियो आइपुग्यो भनेर खुसी भइयो। तर एक्कासी चिप्लिएको आवाज आयो पछाडिबाट धुवाको मुस्लो देखियो र गनायो। सबैजना डुराउनुभयो । कोही रुने, कराउने गर्न थाल्नुभयो । मैले इमर्जेन्सी ढोका हत्तपत्त खोले । धेरैजना आमाहरुले पनि हाम फालेर ज्यान बचाउनु भएको छ । हाम नफालेको भए त निशासिएर मरिने थियो। धेरैजना यात्रुहरूले चिच्याउँदै ढोकामा लात्ता हान्नुभएको थियो तर खुल्ने अवस्था थिएन। सपना हो की जस्तो लाग्यो ।’

घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ।