स्वास्थानी व्रतसँगै शुरु भयो शालिनदीमा एक महिने मेला

स्वास्थानी व्रतसँगै शुरु भयो शालिनदीमा एक महिने मेला
  • १९ पुष २०८२, शनिबार ०८:५१

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वास्थानी व्रत आजदेखि औपचारिक रूपमा शुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीले आजदेखि घरघरमा स्वास्थानी व्रत तथा कथा वाचन सुरु गरि स्वास्वाथी व्रत लिने गरिन्छ ।

mulpatra

स्वास्थानी व्रतमा बिहान माघ स्नान गरी पार्वतीसहित महादेवको पूजा गर्ने र साँझ स्वस्थानी व्रत कथा वाचन गर्ने परम्परा छ । एक महिनासम्म विधिपूर्वक व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाआजा र अघ्र्य अर्पण गरिन्छ । यस व्रतले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसै अवसरमा काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको साँखुको शालिनदीमा आजदेखि माधवनारायण मेला पनि शुरु भएको छ । माघ महिनाभर यहाँ स्नान र माधवनारायण तथा श्रीस्वस्थानीको दर्शन गरेमा पुण्य प्राप्त हुने विश्वासका साथ प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन् । शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको मेलाका लागि सबै तयारी पूरा भइसकेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।