महाधिवेशन निर्वाचनपछि गर्ने प्रस्तावमा कोइरालाको सहमति, विशेष महाधिवेशनमा अधिकांश नेता विपक्षमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा= शेखर कोइरालाले समय अभावका कारण निर्वाचनअघि महाधिवेशन सम्भव नभएकाले निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षको प्रस्तावमा सहमति जनाएको स्पष्ट पारेका छन् । शनिबार आफू निकट नेताहरूसँगको छलफलमा उनले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावको बचाउ गरेका हुन् ।

कोइरालाले आफू महाधिवेशन सार्ने पक्षमा नभए पनि कार्यसम्पादन समितिमा अधिकांश नेताले समय अभाव देखाएपछि खड्काको प्रस्ताव स्वीकार गर्नुपरेको बताएका छन् । छलफलमा पार्टीभित्रको विवादको निकास, विशेष महाधिवेशनको माग र आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने विषयमा व्यापक संवाद भएको थियो ।
छलफलमा सहभागी अधिकांश नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएको जनाइएको छ । यद्यपि विशेष महाधिवेशनका पक्षधर केही नेताहरूले पार्टी संकटमा पर्न सक्ने अवस्था आएमा आफूहरू मागबाट पछि हट्न तयार रहेको सन्देश कोइरालालाई दिएका छन् ।
कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरिसकेको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत केही नेताले फरक मत राख्दै आएका छन् ।
