भेनेजुएला माथि अमेरिकी आक्रमणः भौगोलिक स्वाधिनता माथि आक्रमण

भेनेजुएला माथि अमेरिकी आक्रमणः भौगोलिक स्वाधिनता माथि आक्रमण
  • १९ पुष २०८२, शनिबार २१:३७

काठमाडौं । अमेरिकाले भेनेजुएला माथि सैन्य आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक “ठूलो सैन्य प्रहार थालेको” घोषणा गरे पछि अमेरिकी सेनाले भेनेजुएलाका विभिन्न सैन्य ठाँउहरूमा हवाई तथा मिसाइल आक्रमणहरु गरेको थियो । राजधानी काराकास र आसपासका भूभागहरूमा विष्फोट भएसँगै जनताहरु सडकमा निस्किएका थिए ।
अमेरिकी विशेष सैन्य कमाण्डले मादुरो र उनकी पत्नीलाई समेत पक्राउ गरी देश बाहिर लगिएको र अमेरिकाको अधिनमा रहेको समाचार बाहिरिएका छन् ।

mulpatra

अमेरिकाले यस आक्रमणलाई नार्को–आतङ्कवाद तथा अवैध लागूपदार्थ तस्करी नियन्त्रण गर्ने प्रयास भनेपनि भेनेजुएला सरकारले आफ्नो स्वतन्त्रता र भौगोलिक स्वाधिनता उल्लंघन गरेको दाबी गरेको छ।

अमेरिकाले भेनेजुएलाको मदुरो शासनलाई “लागूदारो तस्करीमा संलग्न,” “अवैध र असंवैधानिक” शासनको रूपमा वर्णन गर्दै सैन्य आक्रमण गर्नुपरेको बताएको छ ।

mulpatra mulpatra mulpatra

यसअघि नै अमेरिकाले भेनेजुएलाको अर्थतन्त्रमाथि अमेरिकी प्रतिबन्ध लगाएको थियो भने तेल ट्यांकर ब्लकहरुलाई नियन्त्रणमा लिइरहेको थियो ।

यसले गर्दा अमेरिकाले तेलको राजनीति गरेको आरोप लागेको छ । भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देशमध्ये एक हो। यसले तेल, ग्यास र खनिज स्रोतका कारण रणनीतिक महत्त्व पाएको छ। यसको अर्थ अमेरिका र अन्य वैश्विक शक्तिहरूबीच प्रतिस्पर्धाको केन्द्रबिन्दु बनेको छ।
अमेरिकाले भेनेजुएलाको त्यही तेल भण्डारलाई आफ्नो अनुकुल बनाउन सार्वभौमिक हक र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको भन्ने आरोप लागेको छ ।

भेनेजुएला अहिले राष्ट्रिय संकटकाल घोषणा गरिएको छ भने रक्षा बल तथा सुरक्षा निकायहरूलाई तैनाथ गरिएको छ। भेनेजुएला सरकारले यो हमला देशका तेल तथा प्राकृतिक स्रोतहरूमा पहुँच र राजनैतिक सत्ताचाहनाका लागि भएको आरोप लगाएका छन्।


किन आक्रमण गर्यो अमेरिकाले
कोलम्बिया, क्युबा र इरान लगायतका देशहरूले यस आक्रमणको कडा निन्दा गरेको घोषणा गरेका छन्। उनीहरूले यसलाई लेटिन अमेरिका र क्यरिबियनमा अमेरिकी हस्तक्षेपको पुनरुत्थान भनि चिन्ता व्यक्त गरेका छन्।

भेनेजुएला संसारकै सबैभन्दा ठूलो तेल भण्डारमध्ये एकमाथि बसेको देश हो। विशेषगरी यहाँको अत्यधिक कच्चा तेलको भण्डारमा अमेरिकाले आँखा लगाएको मानिन्छ। पछिल्ला २५ वर्षदेखि यहाँ समाजवादी सरकार सत्तामा रहँदै आएको छ, जसले आफूलाई अमेरिकाविरुद्ध उभ्याउँदै आएको छ।

सन् १९९९ देखि नै तेलको विषयलाई लिएर अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध चिसिदै गएको थियो । सन् २०१३ मा हुगो चाभेजको निधनपछि निकोलस मादुरो राष्ट्रपति बने। चाभेजले स्थापना गरेको समाजवादी विचारधारा ‘चाभिस्मो’ को विरासत मादुरोलाई प्राप्त भयो। त्यससँगै अमेरिकालाई हेर्ने दृष्टिकोण समेत सकारात्मक हुन सकेन ।

अमेरिका लामो समयदेखि मादुरो सरकारमाथि भेनेजुएला एक “नार्को–स्टेट” मा परिणत भइसकेको आरोप लगाउँदै आएको छ, अर्थात् यस्तो देश जहाँ सत्ता ड्रग तस्करीसँग जोडिएको छ। मादुरोले भने यी सबै आरोपलाई सधैँ अमेरिकी षड्यन्त्रको संज्ञा दिँदै आएका छन्।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार भेनेजुएलासँग ३०३ अर्ब ब्यारेल कच्चा तेल भण्डार छ, जुन विश्वको कुल तेल भण्डारको करिब २० प्रतिशत हो। यही तेलभण्डारलाई अमेरिकाले आँखा लगाएको छ ।
भेनेजुएलासँग ५.५ ट्रिलियन क्युबिक मिटर प्राकृतिक ग्यास भण्डार छ, जुन दक्षिण अमेरिकाको कुल ग्यास भण्डारको ७३ प्रतिशत हो। यसदेखि बाहेक पनि ओरिनोको माइनिङ आर्क क्षेत्रमा सुन र कोल्टन पनि पाइन्छ ती सबै खानीमा सहज पहुँच अमेरिकाले खोजेको देखिन्छ ।


– एजेन्सीको सहयोगमा