आफु बारे संगठित रुपमा अफवाह फैलाइएको अर्थमन्त्रीको आरोप

आफु बारे संगठित रुपमा अफवाह फैलाइएको अर्थमन्त्रीको आरोप
  • २७ जेष्ठ २०८३, बुधबार ०९:३५

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूविरुद्ध संगठित रूपमा अफवाह र कुप्रचार फैलाइएको आरोप लगाएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बुधबार बजेट तथा आर्थिक विधेयकबारे भएको छलफलमा बोल्दै उनले संसदमा बजेटमाथि छलफल हुनुपर्ने बेला आफ्नो विषयलाई लिएर भ्रम फैलाइएको दाबी गरे।

mulpatra

उनले आफूविरुद्ध उठाइएका आरोपहरूको जवाफ दिनकै लागि समितिमा उपस्थित भएको बताए। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका भाषागत त्रुटि तथा सामान्य प्राविधिक सुधारहरू प्रचलित प्रक्रिया, कर्मचारीहरूको सुझाव र विगतको अभ्यासअनुसार सच्याइएको स्पष्ट पारे।

उनले जेठ १५ गते संसदमा दर्ता भएको विधेयकमा आवश्यक सुधार गरी जेठ १७ गते नै संसद सचिवालयलाई जानकारी गराइएको उल्लेख गर्दै यसलाई नियतसँग जोडेर हेर्न नहुने बताए। उनका अनुसार अन्तिम स्वीकृत प्रतिमा गरिएका संशोधनहरू कानुनी तथा प्रशासनिक प्रक्रियाभित्रै रहेर गरिएको हो।

mulpatra mulpatra mulpatra

संशोधनको विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको भन्दै उनले यसमा कुनै गैरकानुनी वा राष्ट्रहितविपरीत कार्य नभएको जिकिर गरे। विगतमा पनि यस्ता त्रुटि सच्याउने अभ्यास रहेको उल्लेख गर्दै उनले यस वर्ष सीमित विषय मात्र संशोधन गरिएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पूर्वाग्रहका कारण भ्रम फैलाउने प्रयास भएको आरोप लगाउँदै उनले आफू यस्ता आरोपको सामना गर्न तयार रहेको र तथ्यका आधारमा सत्य स्पष्ट हुने बताए।