राप्रपा अध्यक्ष राजेन्द्रको राजनीतिक दौडधुप, ओली,देउवा र रविलाई किन भेटे
काठमाडौं -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । बुधबारबाट राजनीतिक भेटवार्तालाई तीव्रता दिएका अध्यक्ष लिङ्देनले विभिन्न राजनीतिक दलका अध्यक्षलाई उनीहरुकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

बिहीबार बिहान अध्यक्ष लिङ्देन बूढानीलकण्ठस्थित रवि लामिछानेको निवासमा पुगेका छन् । रास्वपा सभापति लामिछानेलाई भेट्न अध्यक्ष लिङ्देन एकाबिहानै बूढानीलकण्ठ पुगेका हुन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा राजनीतिक दलका नेता र उनीहरुका निवास र पार्टी कार्यालयमा निशानामा परेका थिए । त्यसयता कम देखिएको राजनीतिक भेटवार्ता निर्वाचन नजिकिएसँगै बाक्लिन थालेको छ ।
![]() |
![]() |
![]() |
|---|
अध्यक्ष लिङ्देनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटेर चियाफान कार्यक्रमको निम्तो दिने कार्यत्रम रहेको राप्रपा प्रवक्ता श्रेष्ठले बताए ।
दुई शीर्ष नेताबिच आसन्न निर्वाचन, समसामयिक राजनीतिक विषयमा कुरा भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन र लामिछानेबिचको भेटवार्ताबारे जानकारी दिँदै श्रेष्ठले भनेका छन्, ‘चुनावबारे कुनै आशंका छ र ? कुरो त्यहाँबाट शुरु भयो ।’
यसअघि बुधबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर अध्यक्ष लिङ्देनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
Image Source: © https://mulpatra.com
ओली निवासमा पनि अध्यक्ष लिङ्देन र अध्यक्ष ओलीबिच आसन्न निर्वाचन, जेनजी आन्दोलनपछि देशको अवस्था, शान्तिसुरक्षालगायतका विषयमा कुराकानी भएको छ । दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक परिस्थितिबारे संवाद भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष ओलीलाई भेट्नुअघि बुधबार दिउँसो अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटेका थिए । दुई पार्टीका अध्यक्षहरुबीच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
किन अध्यक्ष लिङ्देनको म्याराथन राजनीतिक भेटवार्ता भइरहेको छ ? यसको जवाफ दिँदै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पार्टीले गर्न लागेको चियापान कार्यक्रममा निम्तो दिन शीर्ष नेताहरुको निवासमा गएको बताए ।
राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि मनाउन लागिएको चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गर्न लागिएको र सोहीअनुसार अध्यक्ष लिङ्देन निम्तो दिन नेताहरुको घर घरमा पुगेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा अध्यक्ष लिङ्देन विभिन्न पार्टीका शीर्ष नेतालाई भेट्न उनीहरुकै निवासमा पुगेका हुन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



