विधान सम्मत छ विशेष महाधिवेशन, सभापति देउवा पनि आउनुहुन्छ– महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७ गते बोलाइएको विशेष महाधिवेशन पार्टीको विधानअनुसार नै भएको स्पष्ट गर्दै पार्टी सभापति शेरबहादुर देउवा पनि त्यसमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशनको वैधानिकतामाथि उठाइएका प्रश्नहरू निराधार रहेको बताए। “यो महाधिवेशन विधानविपरीत होइन, बरु विधान कार्यान्वयनको एउटा महत्वपूर्ण प्रक्रिया हो,” उनले भने, “पार्टीभित्र देखिएको असन्तुष्टि र भदौ २३–२४ पछिको राजनीतिक अवस्थालाई नदेखेझैँ गरेर अघि बढ्न सकिँदैन।”
थापाका अनुसार विशेष महाधिवेशन कुनै व्यक्तिविशेष वा समूहको स्वार्थका लागि नभई महाधिवेशन प्रतिनिधिहरूको हक स्थापित गर्ने उद्देश्यले बोलाइएको हो। केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना नगर्ला भन्ने कल्पना नै नगरिएको भन्दै उनले देशभरिबाट प्रतिनिधिहरूलाई आह्वान गरिसकिएको जानकारी दिए। “सबै साथीहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ,” उनले भने, “यो अधिवेशन हाम्रो साझा अधिवेशन हो र केन्द्रीय कार्यसमितिले यसको स्वामित्व लिन्छ भन्नेमा हामी विश्वस्त छौँ।”
![]() |
![]() |
![]() |
|---|
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक अनुरोध गरिएको पनि बताए। “सभापतिज्यूलाई यो कुरा पुर्याइदिनुहोला भनेर मैले आग्रह गरेको छु,” उनले भने, “उहाँ पनि आउनुहुन्छ भन्ने अपेक्षा छ।”
विशेष महाधिवेशनका पक्षधरहरूलाई पार्टी फुटाउने प्रयास गरिरहेको भन्दै फैलाइएको हल्लाप्रति पनि थापाले आपत्ति जनाए। “विधान कार्यान्वयन गर्दा पार्टी फुट्छ भन्ने डर देखाएर प्रतिनिधिहरूलाई नआउन दबाब दिने प्रयास भइरहेको छ,” उनले भने, “तर यो केवल हल्ला हो, पार्टीलाई नागरिकसँग जोड्ने अभियानका रूपमा यसलाई बुझ्नुपर्छ।”
उनले पछिल्लो समय देखिएको ‘जेनेरेसन (जी) असन्तुष्टि’लाई एकथरी नेतृत्वले स्वीकार्न नखोजेको आरोप लगाउँदै नीति र नेतृत्व दुवैमा समयानुकूल सुधार आवश्यक रहेको बताए। “नीति पनि फेरौँ, नेतृत्व पनि फेरौँ भन्ने आवाजलाई दबाउने होइन, सुन्ने बेला आएको छ,” थापाले भने।
Image Source: © https://mulpatra.com
कांग्रेसभित्र नियमित महाधिवेशनको पक्षधर समूहले विशेष महाधिवेशनलाई विधानविपरीत भनेर गरिरहेको आलोचना विधानको अपव्याख्या भएको थापाको दाबी छ। उनका अनुसार विशेष महाधिवेशन पार्टीलाई कमजोर बनाउने होइन, बरु आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने माध्यम हो।
यसअघि कांग्रेस विधानले विशेष परिस्थितिमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रम, संगठनभित्रको असन्तुष्टि र नेतृत्व–नीतिसम्बन्धी बहसका कारण विशेष महाधिवेशन आवश्यक भएको कांग्रेसभित्रको एक धारणा छ। यही पृष्ठभूमिमा पुस २७ को विशेष महाधिवेशनलाई पार्टीको भविष्यको दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



