रवि विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ताको बाटो खुल्यो
काठमाडौँ । विभिन्न आरोप खेपीरहेका रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्धा फिर्ता लिन बाटो खुलेको छ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाएको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार रवि लामिछानेविरुद्ध चलेका फौजदारी मुद्दामा अभियोगपत्र संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन् । यस निर्णयसँगै कास्की, काठमाडौँ, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा दर्ता भएका मुद्दामा थपिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटाउने बाटो खुलेको छ ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार सहकारी ठगीसम्बन्धी मूल अभियोग भने यथावत रहनेछ । रविविरुद्ध दायर मुद्दामा सहकारी ठगीलाई कायम राख्दै त्यसमा थपिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग भने कायम नरहने गरी संशोधन गर्न स्वीकृति दिइएको हो ।
![]() |
![]() |
![]() |
|---|
कास्की जिल्ला अदालतमा रवि लामिछाने र उनकी पत्नी निकिता विरुद्ध मात्रै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो । अब महान्यायाधिवक्ताको निर्णयपछि उक्त मुद्दामा पनि अभियोग संशोधन हुने भएको छ ।
महान्यायाधिवक्ता भण्डारीले रवि लामिछानेबाट निवेदन प्राप्त भएपछि सरकारी वकिल कार्यालयहरूबाट राय माग गरिएको र कानुनी प्रक्रिया अनुसार स्वीकृति दिइएको बताइन् । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन गर्न सकिने अवस्था देखिएको उल्लेख गरेकी छन् ।
महान्यायाधिवक्ता कार्यालयले पीडित बचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा राख्दै ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोगलाई भने निरन्तर अघि बढाइने स्पष्ट पारेको छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशनसमेत दिइएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



