कांग्रेसमा विभाजनः गगन थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । आइतबार सुरु भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति चयन भएका हुन् । निर्वाचन समितिका संयोजक सीताराम केसीले मध्यरातपछि पदाधिकारीसहितको पूर्ण केन्द्रीय कार्यसमिति सार्वजनिक गरेका थिए ।

नयाँ कार्यसमितिमा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, खसआर्य तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समावेशी संरचना कायम गरिएको छ ।
केन्द्रीय सदस्यहरू पनि खुला, महिला, प्रदेश, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक कोटाबाट चयन गरिएको छ । नयाँ कार्यसमितिमा देशभरका विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको निर्वाचन समितिले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
यो विशेष महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवासँग सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने निष्कर्षमा पुगेको हो । विशेष महाधिवेशन पक्षले देउवा सक्रिय राजनीतिबाट अलग हुनुपर्ने र गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै उनकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । तर उक्त प्रस्तावमा सहमति नजुटेपछि विवाद चुलिएको थियो ।
विशेष महाधिवेशनले देउवा पक्षले गगन थापासहित केही नेतामाथि गरेको कारबाहीलाई खारेज गर्दै नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको छ । अब देउवा समूह र गगन समूहबीच पार्टीको आधिकारिकता, नाम र संगठनको वैधानिकतासम्बन्धी विवाद सतहमा आउने देखिएको छ ।



