सरकारले भेटेन राजश्व लक्ष्य, आम्दानी भन्दा खर्च बढी
काठमाडौं । सरकारले पुस मसान्त सम्ममा राजश्व लक्ष्य भेट्न सकेन बरु आम्दानी भन्दा खर्च धेरै गरेको छ । सरकारले पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर त्यस अवधिमा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यको करिब ८१ प्रतिशत हो । पुस महिनामात्रै १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ संकलन भए पनि समग्र लक्ष्य भेट्न सरकार असफल देखिएको छ ।

राजस्व संकलन गर्ने मुख्य दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभाग दुवैले अपेक्षित प्रगति गर्न सकेका छैनन् । भन्सार विभागले ६ महिनामा २ खर्ब २६ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ७।३७ प्रतिशत मात्रै बढी हो । पुससम्म २ खर्ब ८६ अर्बको लक्ष्य राखिए पनि त्यो पूरा हुने सम्भावना कमजोर देखिएको छ । आन्तरिक राजस्व विभागले पनि २ खर्ब ७७ अर्ब २७ करोड रुपैयाँ मात्रै उठाएको छ, जुन गत वर्षको तुलनामा २।९४ प्रतिशतको सामान्य वृद्धि हो ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर अर्धवार्षिक अवधिमै लक्ष्यभन्दा ठूलो अन्तर देखिनुले वार्षिक लक्ष्य हासिल हुनेमा शंका बढाएको छ । आयात घट्नु, आर्थिक गतिविधि सुस्त रहनु र कर संकलन प्रणाली अपेक्षित रूपमा प्रभावकारी नहुनु यसको प्रमुख कारणका रूपमा देखिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
यसैबीच, महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ५ महिनामा सरकारले ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यसमा चालु खर्च ४ खर्ब ८७ अर्ब, पुँजीगत खर्च ४९ अर्ब ४२ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५३ अर्ब रुपैयाँ खर्च भएको छ । आम्दानीभन्दा खर्च करिब १ खर्ब रुपैयाँ बढी भइसकेपछि सरकारले आन्तरिक तथा बाह्य ऋणको सहारा लिनुपर्ने अवस्था बनेको छ, जसले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।



