निर्वाचन आयोगमा दबाब बढाउँदै देउवा समूह, जम्मा भयो कार्यकर्ताको भीड
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवाद निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोगमा उपस्थित भएर दबाब बढाउन थालेका छन् । गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको घोषणा भएपछि आधिकारिकताको विषय निर्वाचन आयोग पुगेको हो ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आव्हानमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले पुरानो केन्द्रीय समिति भंग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । तर देउवा पक्षले उक्त विशेष महाधिवेशन असंवैधानिक र अवैध भएको दाबी गर्दै गगन थापा र विश्वप्रकाश शर्मामाथि पाँच वर्षे कारबाहीको निर्णय गरेपछि कांग्रेसभित्र दुई समानान्तर नेतृत्व र समिति देखिएको छ ।
यही विवादको निरुपण निर्वाचन आयोगमा पुगेसँगै देउवा पक्षका बहुमत केन्द्रीय सदस्य, पदाधिकारीहरु समेत आयोगको कार्यालय पुगेका हुन् । देउवा पक्षबाट पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, कल्याण गुरुङ, धनराज गुरुङ, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत नेता पुगेका छन् ।
![]() |
![]() |
![]() |
|---|
नेताहरूले देउवा नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक भएको दाबीसहित आयोगमा पत्र, कागजात र हस्ताक्षरसहितको विवरण बुझाएका छन् । विशेष महाधिवेशन विधिसम्मत रूपमा आव्हान नगरिएको र त्यसबाट बनेको कार्यसमिति अवैध रहेको जानकारी गराउन आफूहरू आयोग पुगेको देउवा पक्षका नेताहरूको भनाइ छ ।
निर्वाचन आयोगले कांग्रेस आधिकारिकताको विषय आजै टुङ्ग्याउने जानकारी पाएर देउवा पक्ष निर्वाचन आयोग पुगेको हो ।



