झापा –५ मा बालेन-ओली भिड्न्तभित्र चुनौती, दुवैले देखेनन् अन्य दललाई प्रतिस्पर्धी (भिडियोसहित)

अन्तिममा प्रसाईको मत निर्णायक हुनसक्छ

झापा –५ मा बालेन-ओली भिड्न्तभित्र चुनौती, दुवैले देखेनन् अन्य दललाई प्रतिस्पर्धी (भिडियोसहित)अन्तिममा प्रसाईको मत निर्णायक हुनसक्छ
  • ७ माघ २०८२, मंगलवार १५:४०

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा– ५ मा यसपटक भने नाती पृुस्तासँग लड्नुपर्ने भएको छ ।

mulpatra

काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)को आगमनले चुनावी माहोल तातेको छ । २०६४ को संविधान सभा बाहेकका निर्वाचनमा सहजै चुनाव जित्दै आएका ओलीलाई बालेन आउने भएपछि चुनौति थपिएको छ ।

निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको बालेनले प्रतिस्पर्धा कडा हुने देखिएको छ । यस पटक भने ओलीका लागि पहिलो चुनौती आफ्नै बोली र दोस्रो बालेन भएको एमाले दमकका नेताहरू बताउँछन् ।

mulpatra mulpatra mulpatra

एमाले दमक नगर अध्यक्ष श्याम पौडेल एमालेको जनमत पोखरी जस्तो भएका कारण बालेन आउँदा फरक नपर्ने बताउँछन् । उनदे ओलीलाई बालेन जित्न नसक्ने दाबी समेत गर्छन । यस्तै रास्वपा कमल गाउँपालिका सभापति केदार चापागाईं पार्टीले वरिष्ठ नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर पठाउनु झापाका लागि गौरवको विषय भएको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको माग युवा पुस्ता र रास्वपाको हो । युवाका नजरमा युवा नै पर्छ ओली युग सकियो ।’ उनले भने

भिडियो पनि

झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवारी दर्ता गराएका छन् । युवामाझ तामाङपनि चर्चित नै हुन । जसका कारण पनि ओली र बालेनलाई उनले पनि चुनौती दिन्छन् । तामाङसँगै कांग्रेस र राप्रपा पनि दुवै जनालाई चुनौती हुने देखिन्छ ।

Image Source: © https://mulpatra.com

तामाङले आफुले ओली र बालेनलाई राम्रो चुनौती दिने र आफुपनि उनीहरु जतिकै प्रतिस्पर्धी भएको दाबी गरे । अहिले ओली र बालेनले अन्य दललाई सामान्य ठानेका छन् । भोली उपेक्षा गरेकै दलसँग हार्नुपर्ने उनले बताए ।

झापा ५ मा दुर्गा प्रसाईको महाअभियानको मतदाता छन् । अन्तिममा ओली र बालेनमध्ये जसलाई प्रसाईले सहयोग गर्छन उसले जित्ने पनि अनुमान गर्न थालिएको छ । यस क्षेत्रमा प्रसाईको १२ हजारभन्दा बढी मत रहेको महाअभियानको दाबी छ ।

बालेनलाई पनि सहज छैन

जनताले अहिले महँगी, बेरोजगारी र भ्रष्टाचार विरुद्ध ठोस कार्ययोजना खोजिरहेका छन्, जुन दुवै पक्षका उम्मेदवारबाट स्पष्ट रूपमा आएको छैन । बालेन पनि यस विषयमा खुल्ला रुपमा नबोलेका कारण जनता पनि दोधारमा देखिन्छन् ।

बालेनको चुनावी कमाण्डर सन्तोष दुलालका अनुसार बालेनले यस्तो विषयमा नयाँ योजना बनाउन छलफल गरिरहेको जानकारी दिए । बालेनले ओलीलाई सिधै लल्कार्नुका पछाडि केही राजनीतिक हिसाबकिताब र मनोवैज्ञानिक आधार छन् ।

झापा– ५ बालेनका लागि राजनीतिक रूपमा सजिलो मैदान होइन । यो क्षेत्र एमालेको ऐतिहासिक गढ पनि हो । कांग्रेसको भोट कहिले यता, कहिले उता भए पनि एमालेले यहाँ सधैँ आफ्नो आधार कायम राख्दै आएको देखिन्छ । तर बालेनसँग भने युवा पुस्ताको आस छ ।

नेपालको सबैभन्दा पूर्वी जिल्ला झापा, भौगोलिक रूपमा मात्र होइन, राजनीतिक रूपमा पनि सधैँ अर्थपूर्ण रहँदै आएको छ । झापाभन्दा पूर्व भारत पश्चिम बंगालको सिलिगढी छ । त्यसैले रणनीतिक, आर्थिक र जनसांस्कृतिक रूपमा पनि झापा संवेदनशील मानिन्छ ।

यही जिल्लाबाट संघीय संसदमा पाँच जना निर्वाचित भएर काठमाडौं पुग्छन् । तिनै पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा चर्चित अनि राजनीतिक रूपमा ‘हेभीवेट’ क्षेत्र मानिन्छ, झापा निर्वाचन क्षेत्र नम्बर ५ ।

झापा– ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानो राजनीतिक थलो हो । यो क्षेत्र ओलीको पहिचान, संगठन र शक्ति आधारसँग गाँसिएको छ । निर्वाचन क्षेत्रगत संरचना हेर्दा, यस क्षेत्रमा गौरादह नगरपालिकाका १ देखि ८ नम्बरका सबै वडा पर्छन् । गौरीगञ्ज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडा अनि दमक नगरपालिका र कमल गाउँपालिका पूरै भाग यही क्षेत्रभित्र समेटिएका छन् । यसरी हेर्दा झापा–५ शहरी, अर्धशहरी र ग्रामीण मतदाताको मिश्रित चरित्र भएको क्षेत्र हो ।

२०७९ सालको निर्वाचनमा यहाँ कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलले गठबन्धन गरेका थिए । राजनीतिक हिसाबले एमाले एक्लिएको अवस्था थियो । त्यसरी घेराबन्दी हुँदा पनि चुनावी परिणाममा एमाले कमजोर देखिएन । यसले यहाँ एमालेको संगठनात्मक जरा कति गहिरो छ भन्ने प्रस्ट देखाउँछ ।

झापा– ५ भित्र पर्ने यही भूगोलमा ओली २०४८ सालदेखि चुनावी प्रतिस्पर्धा गरिरहेका छन्, र एकपल्ट हार्नुबाहेक सधैँ जितेका छन् । यही क्षेत्रले उनलाई पहिलोपटक गृहमन्त्री बनायो । यहीँबाट निर्वाचित भएर उनी देशको प्रधानमन्त्रीसमेत भइसकेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त ओलीले देशभरका उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत पाएका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा ओलीले झापा– ७ बाट विजयी हुँदै सानदार पुनरागमन गरे । त्यसयता २०७४ र २०७९ सालका प्रतिनिधिसभा निर्वाचनमा उनी लगातार दुईपटक अत्यधिक मतका साथ विजयी भएका छन् ।

विशेषतः २०७९ मा उनले देशभरका उम्मेदवारमध्ये सबैभन्दा धेरै लोकप्रिय मत ल्याएर झापामा आफ्नो राजनीतिक वर्चस्व अझै जीवित र मजबुत रहेको सन्देश दिएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचन भने उनका लागि अपवाद बन्यो । देशभर माओवादी लहर चलेको त्यो समयमा उनी पराजित भए, जसले झापाजस्तो बलियो आधार क्षेत्रमा पनि राष्ट्रिय राजनीतिक माहौलले प्रभाव पार्न सक्छ भन्ने संकेत दिएको थियो । तर, यो पराजय अस्थायी साबित भयो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा ओली झापा– २ बाट चुनिए । यही निर्वाचनपछि उनी पहिलोपटक गृहमन्त्री बने, जसले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित नेताको रूपमा उभ्यायो । २०५६ सालमा उनी पुनः झापा ६ बाट निर्वाचित भए र झापामा उनको पकड थप बलियो बन्यो ।

२०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । रास्वपाको मत १८ हजार २ सय ५ मत थियो । रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो पटक करिब १० हजार मतदाता नयाँ छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com