युएईको मागपत्र प्रमाणिकरण समयमा हुँदैन, दुबई महावाणिज्य दूतावासले पनि प्रमाणिकरणका नाममा पैसा कुम्ल्याउँदैएकतिर प्रहरी रिपोर्टको झमेला, अर्कोतिर मागपत्र प्रमाणिकरणमा अनिवार्य कमिशन
काठमाडौं– यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण समयमा हुन छाडेको वैदेशिक रोजगार व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । युएईमा कार्यरत काउन्सिलर दिपेन्द्र पौडेल अनियमितताको आरोपमा फिर्ता भएपछि उनको ठाँउमा अर्को कर्मचारी नहुँदा मागपत्र प्रमाणिकरणको काम समयमा नहुने छाडेको व्यवसायीहरु बताउँछन् ।

दूतावासका कर्मचारीहरुले मागपत्र प्रमाणिकरणको काम गरिहाले पनि अनिवार्य कमिशन लिने गरेको यूएई वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका धेरै म्यानपावर व्यवसायीको आरोप छ । यस विषयमा सोध्न पटक–पटक फोन गरेपनि यूएईका राजदूत तेजबहादुर क्षेत्रीले फोन उठाएनन् ।
काउन्सिलर नभएका कारण मागपत्र प्रमाणिकरणमा केही समस्या भएको हुनसक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । तत्काल त्यो समस्या समाधान हुने गरी काउन्सिलरका आवेदन पनि खुलाएको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
यूएईमा जस्तै दुबई महावाणिज्य दूतावास पनि मागपत्र प्रमाणिकरणमा कमिशन नखाइ काम गर्न सक्ने अवस्था नभएको यूएईमै बसेर डिमाण्डको काम गदै आएका एक नेपालीले मूलपत्रलाई जानकारी दिए ।
दुबईमा महावाणिज्य दूतावास (कन्सुलेट) स्थापना भएसँगै वैदेशिक रोजगारी क्षेत्रका काम सजिलो हुने आस गरिएको थियो । तर अहिले यसै महावाणिज्य दूतावासले मागपत्र प्रमाणिकरणका नाममा विभिन्न समस्या सिर्जना गरी पैसा कमाउने माध्यम बनाएको देखिन्छ ।
यूएईको दुबईमा महावाणिज्य दूतावास स्थापना भएसँग आबुधावी भन्दा टाढा सारजाह, अजमान, उम्मलक्विन,रसअल खेमा, फुजेरा लगायतका राज्यबाठ ल्याएको डिमाण्ड प्रमाणिकरणमा मनपरी भइरहेको दुबईमै रहेका एक म्यानपावर कम्पनीका प्रतिनिधिले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
दुबई महावाणिज्य दूतावासमा दुई जना कर्मचारी छन् । उनीहरुले मागपत्र प्रमाणिकरणमा समस्या देखाएर प्रति–डिमाण्डमा १– २ हजार सम्म कमिशन लिएर काम मात्र गर्ने गरेको उनको आरोप छ । यूएईस्थित नेपाली दूतावासमा पनि यसरी नै कमिशन तिरेर काम गराउनुपर्ने बाध्यता छ ।
साथै व्यक्तिगत भिसाका लागि भने २ हजार दिरामसम्म कमिशन दुबई महावाणिज्य दूतावास र यूएईस्थित नेपाली दूतावासलाई खुवाउनुपर्ने बाध्यता रहेको व्यवसायीहरु बताउँछन् । एकतिर कमिशन बाहेक काम हुँदैन । भने अर्कोतिर अहिले प्रहरी रिपोर्टका कारण डिमाण्ड ल्याउन समस्या भइरहेको छ । यस विषयमा सरकारले चासो नदिएको व्यवसायीकै गुनासो छ ।
राम्रो भिसा र छिटो कामदार पठाउनुपर्ने छ भने यूएईस्थित नेपाली दूतावास र दुबई महावाणिज्य दूतावासका कर्मचारीले प्रति–डिमाण्ड २५ सय देखि ३ हजार दिराम कमिशन लिएर मात्र काम गर्दै आएको ती यूएई कामदार पठाउँदै आएका व्यवसायीको गुनासो छ ।
‘यूएईस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीको छ ५०–६० वटा म्यानपावरमा डिमाण्ड दिएर कमिशन लिने काम गरिरहेको थिए । दुबईमा महावाणिज्य दूतावासमा हरिप्रसाद ओडारी महावाणिज्यदूतले पनि अहिले त्यही काम गर्छ थालेका छन् । यस्तो हो भने यूएई कामदार पठाउन सकिन जस्तो छ ।’ उनले भने ।
दुबईमा महावाणिज्य दूतावासमा हरिप्रसाद ओडारी महावाणिज्यदूत छन् । महावाणिज्य दूतावासमा कुन्जन शाह सुचना अधिकारी कार्यरत छन् । यी २ जना कर्मचारीले मन लाग्दो तरिकाले पैसा दिएर मात्र मागपत्र प्रमाणिकरण गर्ने गरेको उनको आरोप छ । यस विषयमा बुझन् खोज्दा पनि ओडारी सम्र्पकमा आएनन् ।
युएई भिसा प्रक्रिया नेपाल प्रहरीको असल चालचलन रिपोर्टका आधारमा पुनः सुचारु भएपनि गत डिसेम्बर ४ तारिखपछि नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको प्रमाणपत्र (पिपिसी)लाई कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि पुनः नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्दा कामदारसँगै म्यानपावर व्यवसायी पनि समस्यामा परेका छन् ।
गत ४ डिसेम्बरपछि कुनै औपचारिक जानकारी बिना नेपालस्थित युएई दूतावासबाट प्रहरी रिपोर्ट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको थियो । वैदेशिक रोजगारमा युएई जाने नेपाली श्रमिकलाई नेपालस्थित युएईको दूतावासबाट प्रहरी रिपोर्ट प्रमाणीकरण गराउँदा १४ हजार २ सय अतिरिक्त शुल्क तिर्नुपर्छ । जसका कारण कामदारलाई आर्थिक भार समेत थपिएको छ ।
यस विषयमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीलाई पटक–पटक म्यानपावर व्यवसायीले ध्यानाकर्षण गराएपनि उनीहरुले कुटनीतिक पहल गरेको जस्तो दखिन ।
श्रम मन्त्रालयको विषय भएका कारण श्रम मन्त्रीले नै यो समस्या समाधान गर्नुपर्ने परराष्ट्रको भनाइ छ । तर श्रम मन्त्री भने परराष्ट्रले कुटनीतिक पहल गदै होला भन्दै तर्किदै आएका छन् ।
गत वर्ष १ लाख ७७ हजार जना नेपाली कामदार युएई गएका थिए । तर यस वर्ष जेनजी आन्दोलन र प्रहरी रिपोर्टकै कारण यूएईको रोजगारीमा गिरावट आउने म्यानपावर व्यवसायीहरुको चिन्ता छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



