ट्रम्पको वर्षदिन: साम्राज्यवादी महत्त्वाकाङ्क्षासम्म, विश्व अर्थतन्त्रमा हलचल
काठमाडौं– अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको एक वर्ष पूरा गरेका छन्।

सन् २०२५ जनवरी २० मा वासिङ्टनको कडा चिसोका बीच शपथ खाँदै उनले भनेका थिए, “हाम्रो बाटोमा कुनै पनि अवरोध खडा हुने छैन।” उनले भनेजस्तै यो एक वर्ष अमेरिकी इतिहासकै सबैभन्दा तीव्र र आमूल परिवर्तनकारी वर्ष साबित भएको छ।
ह्वाइट हाउसमा उनको पुनरावृत्तिको ३६५ दिनलाई विश्लेषकहरूले राष्ट्रपतीय शक्तिको अभूतपूर्व विस्तार र स्थापित विश्व व्यवस्थाको अन्त्यका रूपमा हेरेका छन्।
![]() |
![]() |
![]() |
|---|
‘म्यानिफेस्ट डेस्टिनी’ र भू–क्षेत्र विस्तारको चेतावनी
आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले १९ औँ शताब्दीको ‘म्यानिफेस्ट डेस्टिनी’ को सिद्धान्तलाई ब्युँताएका छन्, जसले अमेरिकालाई आफ्नो क्षेत्र विस्तार गर्ने ईश्वरीय आदेश रहेको दाबी गर्छ।
यसै अन्तर्गत उनले विश्वको ध्यान तान्ने गरी दुई ठूला घोषणा गरे। ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई आफ्नो बनाउने दृढ संकल्प दोहोर्याएका छन्। यसले ७६ वर्ष पुरानो नेटो सैन्य गठबन्धनमै दरार पैदा गर्ने खतरा बढाएको छ।
Image Source: © https://mulpatra.com
यस्तै उनले पनामा नहर फिर्ता लिने घोषणा मात्र गरेनन्, सामाजिक सञ्जालमा क्यानडा र ग्रीनल्याण्डसहितको अमेरिकी झण्डा भएको नक्सा साझा गरेर क्यानडालाई समेत अमेरिकामा गाभ्ने आशय व्यक्त गरे।
कार्यकारी आदेशको वर्षा र सैन्य शक्ति
ट्रम्पले पहिलो वर्षमै २२८ भन्दा बढी कार्यकारी आदेशहरू जारी गरेर सन् १९४२ यताकै रेकर्ड तोडेका छन्। उनले पदभार ग्रहण गरेको पहिलो दिनमै २६ वटा आदेशमा हस्ताक्षर गरेका थिए।
ट्रम्पको यो एक वर्ष केवल प्रशासनिक निर्णयमा मात्र सीमित रहेन। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अमेरिकी सैन्य शक्तिको कठोर प्रयोग गरेका छन्।
ट्रम्पले सात विदेशी मुलुक र ३५ अन्तर्राष्ट्रिय जलक्षेत्रमा घातक हमलाको आदेश दिए। साथै, १७४० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिएर आफ्नो विशेषाधिकारको भरपूर प्रयोग गरे।
अध्यागमनमा कठोर नीति र भिसा प्रतिबन्ध
ट्रम्पको पहिलो वर्षको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक अध्यागमन कानुन कार्यान्वयन गर्ने तरिकामा देखिएको छ।
हाल कुनै पनि आपराधिक इतिहास नभएका व्यक्तिहरू अध्यागमन हिरासतमा रहेकाहरूको सबैभन्दा ठूलो समूह बनेका छन्। यो अध्यागमन प्रवर्तनमा आएको एक उग्र परिवर्तन हो।
यसैगरी, ट्रम्प प्रशासनले हालै ७५ वटा देशका नागरिकका लागि भिसा प्रक्रिया स्थगित गरिदिएको छ। सन् २०२४ मा सबैभन्दा बढी भिसा जारी गरिएका मुलुकहरू नै अहिले प्रतिबन्धित सूचीमा परेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र ‘डोनरो डक्ट्रिन’
ट्रम्पले स्थापित कूटनीतिक मर्यादालाई तोड्दै ‘शक्ति नै सत्य हो’ भन्ने नीति अपनाएका छन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसलाई “अन्तर्राष्ट्रिय कानुन कुल्चिने साम्राज्यवादी महत्त्वाकाङ्क्षा” को संज्ञा दिएका छन्।
भेनेजुएलामा भएको सैन्य हस्तक्षेपपछि ट्रम्पको नयाँ विदेश नीतिलाई ‘डोनरो डक्ट्रिन’ भन्न थालिएको छ। यसले अमेरिकाले आफ्नो हितका लागि जुनसुकै देशमा कदम चाल्न सक्ने सन्देश दिएको छ।
मध्यपूर्वमा ‘ट्रम्प कूटनीति’ को दबदबा
विभिन्न सार्जनिक कार्यक्रममा ट्रम्पले ३ हजार वर्षपछि मध्यपूर्वमा शान्ति ल्याएको दाबी गर्दै आएका छन्। उनको कडा दबाबकै कारण गाजा क्षेत्रमा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ सम्भव भएको मानिन्छ।
तर, इजरायलले इरानमाथि गरेको हमलालाई समर्थन गरेपछि उनको कूटनीति फेरि विवादमा पर्यो। विश्लेषकहरू यसलाई ‘सेन वासिङ’ भन्छन्, जहाँ ट्रम्पका समर्थकहरू उनका अतार्किक कुराहरूलाई पनि तर्कसंगत देखाउन दिनरात खटिरहेका छन्।
आर्थिक उतारचढाव र महँगीको चुनौती
लोकप्रियतामा गिरावट र भविष्यको बाटो राजनीतिक रूपमा जतिसुकै शक्तिशाली देखिए पनि ट्रम्पका लागि आर्थिक मुद्दा नै सबैभन्दा ठूलो चुनौती बनेको छ।
अर्थतन्त्र सुधार्ने वाचाका साथ ट्रम्प सत्तामा आएका थिए। यद्यपि महँगी हटाउने उनको वाचा अझै पूरा हुन सकेको छैन भने रोजगारी वृद्धिको दर भने निकै निराशाजनक देखिएको छ।
पहिलो दिनदेखि नै महँगी हटाउने उनको वाचा अझै पूरा हुन सकेको छैन। सन् २०२४ को चुनावमा उनले ‘पहिलो दिनदेखि नै महँगी अन्त्य गर्ने’ वाचा गरेका थिए। तर, एक वर्ष बितिसक्दा पनि सर्वसाधारणले आफ्नो भान्छामा महँगी घटेको महसुस गर्न पाएका छैनन्।
चुनावी अभियानका क्रममा बिजुलीको महसुल आधा घटाउने वाचा गरे पनि औसत मूल्यमा झण्डै ५ प्रतिशतले वृद्धि भएको छ। विद्युत् र ग्यासको मूल्य बढे पनि पेट्रोलको मूल्यमा भने गिरावट आएको छ।
जनताले ट्रम्पको दोस्रो कार्यकाललाई उल्लेख्य समर्थन दिएका छैनन् र उनको लोकप्रियताको रेटिङ लगातार घट्दो क्रममा छ।
यदि उनले अर्थतन्त्र सुधार्न सकेनन् भने, २०२६ को मध्यावधि चुनाव र २०२८ को राजनीतिक यात्रा चुनौतीपूर्ण हुन सक्छ। लोकतन्त्रको क्षयीकरणभन्दा पनि आर्थिक सुधारको सुस्त गतिले ट्रम्पवादलाई संकटमा पार्न सक्छ।
ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षले अमेरिकालाई ‘नियममा चल्ने देश’ बाट ‘शक्तिमा चल्ने साम्राज्य’ तर्फ धकेलेको आरोप लागेको छ।
उनी आफैँ भन्छन्, “मलाई जित्न मन पर्छ र मेरो आफ्नै नैतिकता नै मलाई रोक्ने एक्लो कुरा हो।” उनको यो शैलीलाई कतिपय मुलुकले चिन्ताका साथ हेरेका छन् भने मस्को र बेइजिङले यो परिस्थितिलाई मौनताका साथ नियालिरहेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



