विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब नाघ्यो
काठमाडौं – चालु आर्थिक वर्षको पुस मसान्तसम्म विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा १० खर्ब ६२ अर्ब रेमिटेन्स भित्रिएको छ जसले नेपालको समग्र आर्थिक अवस्था सन्तोषजनक देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनदेखि पुस मसान्तसम्म देशमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव १ प्रतिशतले बढी हो।

राष्ट्र बैङ्कका अनुसार पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत वर्षको पुसमा यस्तो रकम १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा हेर्दा पुस मसान्तसम्म रेमिटेन्स आप्रवाह ३२ दशमलव ३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ।
यस अवधिमा मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब ४७ करोड बराबर हो। राष्ट्र बैङ्कका अनुसार हालको सञ्चितिले २१ दशमलव ४ महिनाको वस्तु आयात र १८ दशमलव १ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
![]() |
![]() |
![]() |
|---|
समिक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब रुपैयाँ र शोधनान्तर पाँच खर्ब एक अर्ब रुपैयाँ बचतमा रहेको छ। विदेश व्यापारतर्फ निर्यात ४३ दशमलव ८ प्रतिशतले बढेको छ भने आयात १४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति २ दशमलव ४२ प्रतिशतमा सीमित रहेको राष्ट्र बैङ्कले जनाएको छ।
वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य संख्यामा श्रमिक बाहिरिएका छन्। पछिल्लो छ महिनामा दुई लाख छ हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति लिएका छन् भने एक लाख ९४ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन्। राष्ट्र बैङ्कले रेमिटेन्स वृद्धि, विदेशी मुद्रा सञ्चिति मजबुत हुनु र बाह्य क्षेत्र सुदृढ रहनु समग्र अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको निष्कर्ष निकालेको छ।



