६ महिनामा ठुला विकासे मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत मै सिमित
काठमाडौं– चालु आर्थिक वर्षको ६ महिना सकिँदा ठूला विकासे मन्त्रालयको पुँजीगत खर्च विगतजस्तै कम नै देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट उपलब्ध तथ्यांक अनुसार आधा वर्ष सकिँदा कुनै पनि विकासे मन्त्रालय (प्रमुख १२ मन्त्रालयको तथ्यांक हेर्दा) को ३० प्रतिशत पुँजीगत खर्च पुगेको छैन ।
महालेखाको तथ्यांक अनुसार सबैभन्दा धेरै पुँजीगत बजेट विनियोजन भएको भौतिक पूर्वाधार मन्त्रालयले आधा वर्ष सकिँदा वार्षिक बजेटको १७.७२ प्रतिशत मात्र खर्च गरेको छ । चालु बजेटमा कुल ४ खर्ब ७ रुपैयाँ पुँजीगत बजेट हुँदा भौतिकलाई मात्र एक खर्ब ४४ अर्ब रुपैयाँ दिइएको थियो ।
![]() |
![]() |
![]() |
|---|
पुससम्ममा यो मन्त्रालयले २५ अर्ब ५८ करोड खर्च गरेको छ । गत वर्ष यो मन्त्रालयले पुससम्ममा ३२ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको थियो । गत वर्ष यो मन्त्रालयलाई १ खर्ब ४३ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । गत भन्दा यो वर्ष ७ अर्ब ५२ करोड रुपैयाँ कम खर्च भएको छ ।
यस्तै पर्यटन मन्त्रालयलाई यो वर्ष ४ अर्ब ८४ करोड पुँजीगत बजेट दिएकामा पुससम्ममा १३ करोडमात्र खर्च गरेको छ । यो वार्षिक लक्ष्यको २.६८ प्रतिशतमात्र हो । यस्तै, वन मन्त्रालयले यो वर्ष ३ अर्ब ७६ करोड रुपैयाँ बजेट पाएको थियो । यसमध्ये पुससम्ममा ९९ करोड खर्च गरेको छ । यो वार्षिक लक्ष्यको २६.३२ प्रतिशत हो ।
अर्को ठूलो पुँजीगत बजेट धेरै भएको शहरी विकासको खर्च झनै नाजुक छ । यो मन्त्रालयलाई ८८ अर्ब ४९ करोड बजेट दिइएको थियो । पुससम्ममा यसले ५ अर्ब ७ करोड मात्र खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ५.७२ प्रतिशत हो ।
Image Source: © https://mulpatra.com
यो वर्ष पुससम्ममा वार्षिक लक्ष्यको ५ देखि १० प्रतिशतका बीचमा मात्र पुँजीगत खर्च गरेका मन्त्रालयहरुमा सहरी विकास, सञ्चार, कृषि र शिक्षा देखिएका छन् । यस्तै, १० देखि १५ प्रतिशतको बीचमा खर्च पु¥याउनेमा खानेपानी मन्त्रालय र १५ देखि २० प्रतिशतका बीचमा खर्च गर्नेमा भौतिक, अर्थ र स्वास्थ्य मन्त्रालय बनेका छन् ।
यस्तै, ऊर्जा मन्त्रालय पनि धेरै बजेट पाउनेमा पर्छ । चालु आवमा यसका लागि ३८ अर्ब ४६ करोड बजेट दिइएकामा पुससम्ममा ५ अर्ब ८१ करोड खर्च गरेको छ । यो वार्षिक लक्ष्यको १५.१० प्रतिशत हो ।
महालेखाका अनुसार सञ्चार मन्त्रालयलाई यो वर्ष १ अर्ब ९३ करोड बजेट विनियोजन गरेकोमा पुससम्म १८ करोड रुपैयाँमात्र खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ९.३२ प्रतिशत हो । यस्तै, उद्योग मन्त्रालयका लागि ४ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा पुससम्ममा १३ करोड अर्थात् वार्षिक लक्ष्यको ३.२५ प्रतिशत खर्च भएको छ ।
खानेपानी मन्त्रालयले पुससम्म वार्षिक लक्ष्यको १०.९७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यो मन्त्रालयलाई १९ अर्ब ७८ करोड रुपैयाँ बजेट दिएकामा ६ महिनामा २ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ ।
यस्तै, कृषि मन्त्रालयले वार्षिक बजेटको ८.८७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यो मन्त्रालयलाई ३ अर्ब ३८ करोड रुपैयाँ दिइएको छ । यसमध्ये ३० करोड रुपैयाँ खर्च गरेको हो ।
शिक्षा मन्त्रालयले यो पुससम्म पुँजीगत बजेट ९.४२ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयलाई ६ अर्ब ७९ करोड बजेट दिएकामा ६४ करोड रुपैयाँ खर्च गरेको हो ।
यसैगरी स्वाथ्य मन्त्रालयले यो पुससम्म वार्षिक बजेटको १५.०७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यो मन्त्रालयलाई १६ अर्ब ९८ करोड रुपैयाँ बजेट दिएकामा ६ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



