जादु–टुनाले देश विकास सम्भव हुँदैनः कांग्रेस सभापति गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु–टुना’ शैलीबाट देशको विकास सम्भव नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले नेपालको पूर्वाधार विकास सुस्त हुनुको मूल कारण सतही होइन, प्रणालीगत समस्या भएको बताएका हुन्।

थापाले आयोजनास्थलमा पुगेर निर्देशन दिँदा वा ठेकेदारलाई धम्क्याउँदा तत्काल ताली त पाउन सकिएला, तर त्यसले दीर्घकालीन समाधान नदिने बताए। “लक्षणमा मात्र काम गरेर हुँदैन, जरामै पुगेर उपचार गर्नुपर्छ,” भन्दै उनले विकासको परम्परागत सोच र काम गर्ने शैली अब काम नलाग्ने उल्लेख गरे।
उनले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था उदाहरण दिँदै समस्या व्यवस्थापनको कमजोर प्रणालीतर्फ औंल्याए। सडक बनेलगत्तै खानेपानी, ढल र फाइबरका लागि पटक–पटक खन्ने प्रवृत्तिले लागत बढाउनुका साथै देशले ठूलो ‘अपरच्युनिटी कष्ट’ बेहोर्नुपरेको थापाको भनाइ छ।
![]() |
![]() |
![]() |
|---|
संसद्, संसदीय समिति र मन्त्रालयमा लामो समय काम गर्दा पूर्वाधार निर्माणमा देखिएका कमजोरीलाई नजिकबाट नियालेको उल्लेख गर्दै उनले कानुनी संरचनामै समस्या रहेको बताए। ४८ वर्ष पुरानो सडक ऐन र २० वर्ष पुरानो सार्वजनिक खरिद ऐनले आजको आवश्यकता सम्बोधन गर्न नसक्ने भन्दै उनले करिब तीन दर्जन कानुन संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने निष्कर्षमा पुगेको जानकारी दिए।
“कानुन नफेरि बाहिर जति हल्ला गरे पनि परिणाम आउँदैन,” थापाले भने, “विगतमा मन्त्रीले चाबुक देखाएर ठेक्का तोड्छु भनेको वा कसैलाई गाली गरेको भरमा समस्या समाधान भएको छैन।” अब व्यक्तिको आक्रोश होइन, संस्थागत क्षमता वृद्धि र कानुनी सुधार नै विकासको आधार बन्नुपर्ने उनको जोड छ।
सभापति थापाले आगामी पाँच वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गर्दै विकासलाई नारा र प्रदर्शनबाट होइन, संरचनागत सुधारबाट अगाडि बढाउनुपर्ने सन्देश दिएका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



