बीमामा आधा नेपाल सहभागि भएपछि ‘रियल’ कम १८ प्रतिशतमा मात्र
काठमाडौं– नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को पौष मसान्तसम्मको मासिक तथ्यांक अनुसार नेपालमा बीमाको पहुँच ५० प्रतिशत जनसंख्यामा मात्र पुगेको देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बिमाको पहुँच ४३.६२ प्रतिशत मात्र थियो । एक वर्षको अवधिमा बीमाको पहुँच १४.५८ प्रतिशतले बढेको प्राधिकारणले जारी गरेको तथ्यांकमा देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको जनसंख्या प्रक्षेपणका आधारमा प्राधिकरणले गरेको विश्लेषणले ४९.९९ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको देखाउँछ ।
![]() |
![]() |
![]() |
|---|
नेपालको कूल जनसंख्याको आधा हिस्सा अझै पनि जीवन बीमाको सुरक्षा घेराभन्दा बाहिर रहेको पाइएको छ । यस पहुँचमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखहरूलाई समेत समावेश गरिएको छ ।
तथ्यांकलाई सुक्ष्म रूपमा हेर्दा यदि वैदेशिक रोजगार बीमालेखलाई हटाउने हो भने बीमाको पहुँच ४१.९४ प्रतिशत मात्र सीमित देखिन्छ । यो पनि गत वर्षको तुलनामा भने वृद्धि भएको देखिएको छ । गत वर्ष वैदेशिक रोजगार बीमालेख बाहेक जनसंख्याको ३५.९७ प्रतिशतमा मात्र बीमाको पहुँच रहेको थियो । एक वर्षको अवधिमा यस्तो बीमालेख १६.६० प्रतिशतले बढेको छ ।
अझ, म्यादी र लघु म्यादी जीवन बीमालेखहरूलाई समेत गणना नगर्ने हो भने त वास्तविक पहुँच केवल १८.०३ प्रतिशत मात्र रहेको प्राधिकरणको प्रतिवेदनले स्पष्ट पारेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष सोही अवधिमा १६.८१ प्रतिशत जनसंख्यामा यस्तो बीमाको पहुँच पुगेको थियो ।
Image Source: © https://mulpatra.com
यसले नेपाली बीमा बजारमा अझै पनि ठूलो जनसंख्या बीमाको पहुँचभन्दा बाहिर रहेको र बजार विस्तारको प्रचुर सम्भावना रहेको देखाउँछ ।
प्राधिकरणको प्रतिवेदन अनुसार यस आर्थिक वर्षको पौष मसान्तसम्ममा कूल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ६२ लाख ५० हजार १३६ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७३ प्रतिशतले बढी हो । सक्रिय जीवन बीमालेखहरूमध्ये सबैभन्दा ठूलो हिस्सा लघु जीवन बीमा (३४.६३ प्रतिशत) को रहेको छ । जसले न्यून आय भएका वर्गमा बीमाको आकर्षण बढ्दै गएको सङ्केत गर्दछ ।
प्रादेशिक असमानता कायमै बीमाको पहुँचमा प्रादेशिक रूपमा ठूलो खाडल देखिएको छ । संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा सबैभन्दा बढी १ करोड ३ लाख ७ हजार १२१ वटा सक्रिय जीवन बीमालेखहरू रहेका छन् ।
यसको विपरित सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५ लाख ९३ हजार ३६१ वटा मात्र सक्रिय बीमालेखहरू रहेका छन् । बीमाशुल्क संकलनका आधारमा पनि बागमती प्रदेशले कूल बजारको ४४.१३ प्रतिशत हिस्सा ओगटेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.०२ प्रतिशत मात्रै रहेको छ ।
वित्तीय प्रगति र संस्थागत संरचना चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरूले कूल ९६ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १९.०५ प्रतिशतको वृद्धि हो । यसै अवधिमा कम्पनीहरूले १ लाख ७ हजार ९१८ वटा दाबीहरू फछ्र्यौट गर्दै २१ अर्ब ६४ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी समेत गरेका छन् ।
हाल नेपाली बीमा बजारमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



