शिशु मृत्युदर सुदूरपश्चिममा अधिक, बागमतीमा कम
काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को पूर्ण नतिजा सार्वजनिक गरेको छ ।

तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ ।
त्यस्तै, ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । नवजात शिशुमध्ये १ महिना उमेर नपुग्दै १७ शिशुको मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रदेशगत तथ्यांकअनुसार, नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ। सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ ।
शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र बागमतीमा सबैभन्दा कम १७ देखिएको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
नेपालको कुल प्रजनन दर प्रतिमहिला १.९ मा झरेको छ। तर १५–१९ वर्षका किशोरीमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाईएको छ। यो तथ्यांकले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ ।
Image Source: © https://mulpatra.com
यस्तै, २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ। गत दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएको पाइएको छ । प्रतिवेदनअनुसार, ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको र २५.३ प्रतिशतले शल्यक्रियाबाट सुत्केरी गराएको देखिएको छ ।
बाल पोषणमा गम्भीर अवस्था
सर्वेक्षण प्रतिवेदनअनुसार, ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी (लिखुरेपन) को समस्यामा छन्। मधेस प्रदेशमा तौल कमी भएका बालबालिकाका सबैभन्दा बढी ३३.२ रहेका छन् भने सबैभन्दा कम बागमतीमा ९.६ प्रतिशत रहेको छ ।
यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् ।
आधारभूत विद्यालय कक्षाको १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिका ४१.२ प्रतिशत रहेको छ। ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।
विद्युत ९६.७ प्रतिशत घरमा
सर्वेक्षणअनुसार ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवामा पहुँच पुगेको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा बढी ९९.५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८०.८ प्रतिशत रहेको छ ।
टेलिफोन सेवा ९५.५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् ।
नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२.४ प्रतिशतले सुधारिएको चर्पीको प्रयोग गर्ने गरेका छन् ।
स्वास्थ्य बीमामा न्युन सहभागिता
यसैगरी १५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेका छन् । पाँच वर्षमुनिका बालबालिकामा यो दर ११.७ प्रतिशत मात्र रहेको छ ।
युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको नेपालको चौथो बहुसूचक सर्वेक्षण हो। यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि महत्त्वपूर्ण आधार प्रदान गर्ने तथ्यांक कार्यालयले जनाएको छ ।
महिला तथा बालबालिकाको अवस्था मूल्यांकन, नीति निर्माण र दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



