भक्तपुर-२ मा नेमकिपाको पकड तोड्न नयाँ-पुरानाको जोडतोड
काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक माहोल तात्तिएको छ ।

कुल २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमध्ये १६ जना विभिन्न राजनीतिक दलका र नौं जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुर–१ लाई लामो समयदेखि नेमकिपाको गढ मानिँदै आएको छ ।२०४८ सालदेखि हालसम्म भएका कुनै पनि संसदीय निर्वाचनमा नेमकिपाले पराजय बेहोर्नुपरेको छैन ।
परम्परागत रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को बलियो पकड रहेको यस क्षेत्रमा यसपटक भने प्रतिस्पर्धा झनै चर्किने संकेत देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
२०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगातार विजयी भएका थिए भने त्यसपछि २०७४ र २०७९ सालमा प्रेम सुवालले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्दै पार्टीको विरासत जोगाएका थिए ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका १९ वटा वडा समेटिएको यस क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला गरी कुल १ लाख ७ हजार ४४ मतदाता छन् । मतदाताको यो ठूलो संख्याले यहाँको निर्वाचनलाई झनै चासोको विषय बनाएको छ।
२०७९ सालको निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत ल्याएर भारी मतान्तरसहित जित हात पारेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याउँदा उनीहरूबीच ३० हजार ७९३ मतको फराकिलो अन्तर थियो। तेस्रो स्थानमा राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत पाएका थिए भने माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका थिए।
त्यसअघि २०७४ सालमा पनि सुवाल ३३ हजार ७६ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याउँदा उनीहरूबीच १५ हजार २५८ मतको अन्तर थियो। यसले नेमकिपाको बलियो जनआधार स्पष्ट पारेको थियो ।
Image Source: © https://mulpatra.com
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलले सशक्त उम्मेदवार अघि सारेका छन्।
नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोमप्रसाद मिश्र, रास्वपाबाट रुकेश रन्जित, राप्रपाबाट भरतबहादुर खड्का, माओवादीबाट चन्द्रमान कोजुलगायतका उम्मेदवारले सक्रिय प्रचार–प्रसार गरिरहेका छन्। यिनले नेमकिपाको परम्परागत मत आधारलाई खल्बल्याउने प्रयास गरिरहेका छन् ।
नेमकिपाको संगठन बलियो भएपनि अन्य दलहरूको सक्रियता र गठबन्धनको सम्भावनाले यसपटकको चुनावलाई रोचक बनाएको छ। यदि विपक्षी मत विभाजित भए नेमकिपालाई फाइदा पुग्न सक्छ, तर विपक्षीहरूबीच रणनीतिक समन्वय भएमा परिणाम अप्रत्याशित हुनसक्ने आंकलन गरिएको छ ।
भक्तपुर–१ को निर्वाचन इतिहासले नेमकिपाको मजबुत पकड देखाउँछ । तर राजनीति स्थिर र स्थायी हुँदैन। समयसँगै जनअपेक्षा र राजनीतिक समीकरण बदलिन्छन्। यसपटकको निर्वाचनमा नेमकिपाले आफ्नो परम्परागत गढ जोगाउने कि नयाँ शक्ति उदाउने भन्ने कुरा मतदाताको निर्णयमा निर्भर रहनेछ ।
विकास र प्रतिनिधित्वको बहस
नेमकिपाले आफ्नो जितको आधार स्थानीय मुद्दा, स्वच्छ छवि र वैचारिक स्पष्टतालाई मान्दै आएको छ। पार्टीले शिक्षा, स्थानीय उत्पादन, संस्कृति संरक्षण र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा निरन्तर आवाज उठाएको दाबी गर्छ। प्रेम सुवाल स्वयं पनि स्पष्ट वक्ता र संसदीय बहसमा सक्रिय सांसदका रूपमा चिनिन्छन्।
तर विपक्षी दलहरूले भने विकासको गति अपेक्षित नभएको, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र लगानी भित्र्याउने सवालमा थप सक्रियता आवश्यक रहेको तर्क गरिरहेका छन्।
विशेषगरी भक्तपुरजस्तो ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्रमा आर्थिक अवसर विस्तार हुन नसकेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन्।
यसपटकको निर्वाचनमा नेमकिपाले विगतझँै सहज जित दोहोर्याउने कि विपक्षी दलहरूले मतान्तर घटाएर कडा प्रतिस्पर्धा खडा गर्ने भन्ने प्रश्न चासोको विषय बनेको छ। विगतमा फराकिलो मतान्तर रहेको भए पनि बहुदलीय प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवारको उपस्थिती र बदलिँदो मतदाताको मनोविज्ञानले समीकरण बदलिन सक्ने संकेत देखिन्छ।
नेमकिपाका लागि यो चुनाव विगतको विरासत जोगाउने मात्र होइन, बदलिँदो राजनीतिक परिवेशमा आफ्नो प्रभाव कायम राख्ने परीक्षा पनि बनेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



