कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः गगन थापा
काठमाडौँ। गगनकुमार थापाले नेपाली कांग्रेससँग देश बदल्ने स्पष्ट सोच, दृढ सङ्कल्प र व्यवहारिक योजना रहेको बताएका छन्। सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा मतदातासँग भेटघाट गर्दै उनले विगतका कमजोरीबाट सिक्दै अब कांग्रेसले गर्न नसकिएका कामलाई मुर्तरूप दिने प्रतिबद्धतासहित निर्वाचनमा होमिएको बताए।

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनपछि नयाँ उत्साह र कार्ययोजनासहित अघि बढेको उल्लेख गर्दै थापाले आगामी पाँच वर्ष रोजगारी सिर्जना, निजी क्षेत्र प्रवर्द्धन, लगानीमैत्री वातावरण र सूचना प्रविधिमा आधारित अवसर विस्तारलाई प्राथमिकता दिने बताए। युवालाई स्वदेशमै रोजगारी दिन प्रत्येक वर्ष करिब पाँच लाख रोजगारी सिर्जना आवश्यक रहेको उनको भनाइ छ।
थापाले सर्लाही–४ मा एक वर्षभित्र शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा ठोस काम गरेर देखिने समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। यसैबीच जसपा नेपाल र लोसपासँग सम्बन्धित विभिन्न नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा थापाले यस क्षेत्रसँगको सम्बन्ध पारिवारिक भएको बताउँदै जनताले दिएको विश्वास खेर जान नदिने आश्वासन दिए।
![]() |
![]() |
![]() |
|---|



