सरकारले ६ महिनामा दियो ५३ अर्बभन्दा बढी राजस्व छुट
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा ५३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर तथा राजस्व छुट प्रदान गरेको छ। मन्त्रालयका अनुसार यो छुट विभिन्न कानुनी प्रावधानअनुसार आयात तथा आन्तरिक कर प्रणालीमार्फत दिइएको हो।

उक्त अवधिमा वस्तु आयाततर्फ मात्रै ५२ अर्ब ५४ करोड रुपैयाँ बराबर राजस्व छुट उपलब्ध गराइएको छ। मूल्य अभिवृद्धि कर ऐनअन्तर्गत छुटयोग्य वस्तु आयातमा २९ अर्ब ७० करोड रुपैयाँभन्दा बढी छुट दिइएको छ। भन्सार ऐनअनुसार कूटनीतिक सुविधा तथा अन्य महसुल शीर्षकमा करिब ५२ करोड रुपैयाँ छुट प्रदान गरिएको छ।
आर्थिक ऐन, २०८२ बमोजिम सरकारी तथा सामुदायिक संस्थाले आयात गरेका वस्तुमा ९५ करोड रुपैयाँ बराबर छुट दिइएको छ। परियोजना विकास सम्झौताअन्तर्गत नेपाल सरकार वा लगानी बोर्ड नेपालसँग सम्झौता भएका आयोजनाका सामग्रीमा १ अर्ब ४९ करोड रुपैयाँ छुट दिइयो भने साफ्टा सुविधाअन्तर्गत आयातमा २ अर्ब ७६ करोड रुपैयाँ बराबर छुट प्रदान गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
भन्सार महसुल ऐनका अन्य व्यवस्थाअन्तर्गत १७ अर्ब ४० करोड रुपैयाँ छुट दिइएको विवरण छ। आन्तरिक करतर्फ ३ हजार ४७७ करदाताले ५५ करोड ५७ लाख रुपैयाँ बराबर छुट पाएका छन्। मन्त्रालयका अनुसार सबै छुट सम्बन्धित कानुनी प्रावधानका आधारमा प्रदान गरिएको छ।



