अमेरिकी ‘नर्क’ टिप्पणीप्रति भारत भन्छ, ट्रम्पको अति तुच्छ सोच देखियो !
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिएको ‘नर्क’ सम्बन्धी विवादास्पद अभिव्यक्तिप्रति भारतले कडा प्रतिक्रिया जनाएको छ ।

ट्रम्पको टिप्पणीलाई भारतले ‘भद्दा, अनुचित र अति तुच्छ झल्काउने’ भनेर आलोचना गरेको छ।
सुरुवातमा भारतले यस विषयमा संयमित प्रतिक्रिया दिएको थियो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले केही मिडिया रिपोर्टहरू मात्र हेरेको बताउँदै विषयलाई त्यत्तिकै टुंग्याउने संकेत गरेका थिए।
![]() |
![]() |
![]() |
|---|
तर विपक्षी दलहरूले यसलाई कूटनीतिक मौनता भन्दै ट्रम्पको दोहोरो व्यवहारको आलोचना गरेपछि भारतलाई औपचारिक प्रतिक्रिया दिन दबाब परेको थियो।
विवाद बढेपछि आयो औपचारिक प्रतिक्रिया
विपक्षी दल र राजनीतिक विश्लेषकहरूले प्रश्न उठाए कि ट्रम्पले एकातिर लामो लेखमार्फत भारतलाई ‘नर्क’ भनेका छन् भने अर्कोतर्फ प्रधानमन्त्रीलाई आफ्नो साथी बताउँछन्— यो कस्तो दोहोरो व्यवहार हो ? यस्तो टिप्पणी अस्वीकार्य रहेको उनीहरूको भनाइ थियो।
Image Source: © https://mulpatra.com
यसपछि भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै ट्रम्पको अभिव्यक्ति भारत–अमेरिका सम्बन्धको भावनाविपरीत भएको जनाएको छ। मन्त्रालयका अनुसार दुवै देशबीचको सम्बन्ध आपसी सम्मान, विश्वास र सहकार्यमा आधारित भएकाले यस्तो टिप्पणी स्वीकार्य हुन सक्दैन।
कांग्रेसद्वारा सरकारसँग जवाफ माग
यस विषयमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले पनि सरकारसँग प्रतिक्रिया माग गरेका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी माथि प्रश्न उठाउँदै ट्रम्पको टिप्पणीबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए।
खरगेले सामाजिक सञ्जालमार्फत लेख्दै ट्रम्पले भारतबारे अपमानजनक शब्द प्रयोग गरेको र यस्ता ‘बेतुका’ अभिव्यक्तिमा सरकार मौन बस्न नहुने बताएका थिए।
ट्रम्पको पोस्टपछि सुरु भयो विवाद
राष्ट्रपति ट्रम्पले अमेरिकी राजनीतिक विश्लेषक माइकल सैवेज को पोडकास्ट ‘सेभेज नेशन’ र एक लेख सामाजिक सञ्जालमा साझा गरेका थिए। उक्त पोडकास्टमा भारत, चीन लगायतका देशहरूलाई ‘हेल होल्स’ अर्थात् ‘नर्क’ भनेर उल्लेख गरिएको थियो।
त्यसैगरी, भारतीय र चिनियाँ आप्रवासीलाई ‘ल्यापटप भएका गिरोह’ जस्ता आपत्तिजनक शब्द प्रयोग गरिएको थियो। पोडकास्टमा ती देशका नागरिकहरू अमेरिका गएर बच्चा जन्माएर नागरिकता लिने प्रयास गर्ने आरोप समेत लगाइएको थियो।
अमेरिकी दूतावासको स्पष्टीकरण
विवाद बढेपछि नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ता क्रिस्टोफर एल्म्स ले स्पष्टीकरण दिएका छन्। उनले ट्रम्पले भारतप्रति सकारात्मक धारणा राखेको बताउँदै विवादलाई कम गर्ने प्रयास गरेका थिए।
उता ट्रम्पले भने पुनः दोहोर्याउँदै प्रधानमन्त्री मोदी आफ्ना असल साथी भएको र भारतसँग आफ्नो व्यापारिक तथा व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताएका छन्।
एजेन्सीबाट
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



