उद्योग बाणिज्य महासंघमा प्यानल सहित ढकालको उम्मेदवारी घोषणा
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल पक्षले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुने क्रममा ढकाल समूहले राजधानीमा कार्यक्रम आयोजना गरी आफ्नो प्यानल सार्वजनिक गरेको हो।

हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष शेखर गोल्छा, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीलगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा व्यवसायी दीपक मल्होत्रासमेत सहभागी थिए।
ढकाल नेतृत्वको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी दिने घोषणा गरेकी छन्। जिल्ला–नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहने भएका छन्। महासंघको संशोधित विधानअनुसार यसपटक दुई जना जिल्ला–नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठ उम्मेदवार रहने जानकारी दिइएको छ। ढकाल पक्षले वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष पदहरूमा समन्वय, निरन्तरता र संस्थागत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
महासंघको वार्षिक साधारणसभा आगामी चैत २८ र २९ गते आयोजना हुँदैछ। विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था छ भने अन्य पदमा प्रत्यक्ष निर्वाचन हुनेछ।
यसैबीच, महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अर्को समूहबाट शिवप्रसाद घिमिरेले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। महासंघभित्र आगामी नेतृत्व चयनलाई लिएर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



