कांग्रेस जेनजीको मागअनुसार परिवर्तित भएर आएको होः उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेस जेनजी पुस्ताले उठाएका सुशासन, जवाफदेहिता र नेतृत्व हस्तान्तरणका मागअनुसार आफूहरू परिवर्तित भएर जनतामाझ आएको दाबी उपसभापति विश्वप्रकाश शर्मा ले गरेका छन्।

महोत्तरीको जलेश्वरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशभर देखिएको जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। उनले परिवर्तनको आवाज बाहिर होइन, पहिले आफ्नै पार्टीभित्र सुरु हुनुपर्छ भन्ने सन्देश जेनजीले दिएको बताएका छन् ।
उपसभापति शर्माका अनुसार जेनजी आन्दोलनको मुख्य माग सुशासन, पारदर्शिता र नयाँ नेतृत्वको उदय हो। त्यही भावनालाई आत्मसात् गर्दै नेपाली कांग्रेसले पुस्तान्तरणको स्पष्ट निर्णय गरेको उनले दाबी गरे।
![]() |
![]() |
![]() |
|---|
उनले लामो समयदेखि पार्टीभित्र पुस्तान्तरणको पक्षमा आवाज उठाउँदै आएका गगनकुमार थापा लाई पार्टी सभापति बनाएर निर्वाचनमा गएको प्रसंग उल्लेख गर्दै अब यसको मूल्याङ्कन जनताले गर्ने बताए।
गत भदौमा देशका विभिन्न स्थानमा भएका जेनजी आन्दोलनमा युवाहरूले राजनीतिक दलहरूमा रूपान्तरण आवश्यक रहेको स्पष्ट सन्देश दिएको स्मरण गर्दै उनले भने, “युवालाई केवल नारामा होइन, राज्य सञ्चालनको केन्द्रमा ल्याउनुपर्छ भन्ने मागलाई हामीले व्यवहारमा उतारेका छौँ।”
आगामी निर्वाचनपछि पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको र देशभर नयाँ तथा अपेक्षाकृत युवा उम्मेदवार अघि सारिएको उल्लेख गर्दै शर्माले कांग्रेस अब पुरानो ढर्रामा नफर्किने स्पष्ट पारे।
Image Source: © https://mulpatra.com
देशले खोजेको विकास, जनताले चाहेको परिवर्तन र नागरिकले अपेक्षा गरेको जिम्मेवार सरकार दिने सामर्थ्य नेपाली कांग्रेससँग मात्रै छ भन्दै उनले यसपटकको निर्वाचनमा जनताले कांग्रेसको अभियानलाई अनुमोदन गर्ने बताएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



