सरकारी चेक भुक्तानीमा राष्ट्र बैंकको कडाइ, नगद र बेयरर चेक निरुत्साहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा कडाइ गरेको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) कार्यान्वयनमा ल्याउँदै चेक भुक्तानीसम्बन्धी नयाँ र स्पष्ट व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्था अनुसार अब सरकारी खाताबाट हुने भुक्तानी वित्तीय भुक्तानी प्रणाली (डिजिटल माध्यम) वा अकाउन्ट पेयी चेक मार्फत मात्र गर्नुपर्नेछ। यसले नगद तथा बेयरर चेक प्रयोगलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले यो व्यवस्था तत्काल लागू गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
निर्देशनअनुसार नेपाल राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा चेक राइटर, चेक प्रोटेक्टर, चेक जाँच उपकरण वा रिबन राइटर अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ, जसले चेकको सुरक्षा र पारदर्शिता बढाउनेछ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै, कार्यालयको नाममा जारी गरिएको चेक सम्बन्धित कार्यालय आफैंले खातामा जम्मा गर्न पठाउँदा चेकको पछाडि सो कार्यालयको स्पष्ट चिनिने छाप अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। तर, उक्त चेक अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सम्बन्धित कार्यालयको खातामा जम्मा गरिदिँदा भने छाप अनिवार्य हुने छैन।
राष्ट्र बैंकले क्लियरिङमार्फत प्राप्त चेकको रकम चेक जसको नाममा जारी गरिएको हो, उसैको नामको खातामा मात्र जम्मा गर्नुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गरेको छ।
केन्द्रीय बैंकका अनुसार यी प्रावधानले सरकारी कारोबारलाई थप सुरक्षित, पारदर्शी र अनुशासित बनाउनेछ भने चेक दुरुपयोग तथा वित्तीय अनियमितता न्यूनीकरण गर्न मद्दत पुग्नेछ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



