मकालु क्षेत्रको बेलीब्रिज भाँचिँदा नुम–सेदुवा सडक अवरुद्ध

मकालु क्षेत्रको बेलीब्रिज भाँचिँदा नुम–सेदुवा सडक अवरुद्ध
  • १६ फाल्गुन २०८२, शनिबार १२:४७

काठमाडौँ । मकालु गाउँपालिका–५ नुम र वडा नं २ सेदुवा जोड्ने बेलीब्रिज भाँचिँदा नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अरुण नदीमाथि निर्माण गरिएको पुल आज बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोवेट ट्रक तार्ने क्रममा भाँचिएको हो ।

mulpatra

जिल्ला प्रहरी कार्यालयका अनुसार ठूलो सवारीसाधन पुलबाट पार गराउने क्रममा पुल गाडीसहित भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक नदीमा खसेको छ । घटनाबारे जानकारी दिँदै कुमारप्रसाद मैनालीले पुल क्षतिग्रस्त भएपछि तत्काल आवतजावत रोकिएको बताए ।

दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्रक निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको सामग्री ढुवानीमा प्रयोग हुँदै आएको थियो ।

mulpatra mulpatra mulpatra

पुल भाँचिएसँगै यस मार्ग हुँदै आवतजावत हुने स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । यही सडक प्रयोग गरेर मकालु बेसक्याम्प जाने–आउने गरिँदै आएको छ । पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।