मध्येपुर्वमा महायुद्धको संकेतः खामेनीको मृत्युपछि इरानले अमेरिकी सैन्य अखडा भीषण प्रत्याक्रमण‘अहिलेसम्म नदेखेको शक्ति’ प्रयोग गर्ने ट्रम्मको चेतावनी
काठमाडौँ– पश्चिम एसियाका खाडी देशहरु अहिले एउटा यस्तो मोडमा उभिएका छन्, जहाँबाट फर्कने बाटो सायद अब समाप्त भएको छ ।

संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि यो क्षेत्र पूर्णकालीन युद्धको चपेटामा परेको छ ।
इरानले यसलाई आफ्नो ‘रेड लाइन’ पार गरिएको संज्ञा दिँदै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र इजरायली सहरहरूमा मिसाइलको वर्षा सुरु गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
मध्यपूर्वको आकाश अझै शान्त हुन सकेको छैन । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा मात्रै इरानमाथि १,२०० भन्दा बढी बम र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । अमेरिका र इजरायलको यो संयुक्त सैन्य कारबाहीले इरानका सैन्य अखडा मात्र होइन, नागरिक बस्तीहरूलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
स्कुलमा हमलाः दर्जनौँ बालबालिकाको मृत्यु
यस भीषण आक्रमणको सबैभन्दा हृदयविदारक घटना दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा देखिएको छ । इजरायली बमबारीमा एउटा प्राथमिक बालिका विद्यालय ध्वस्त भएको छ, जहाँ कम्तीमा १४८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
Image Source: © https://mulpatra.com
इरानी विदेशमन्त्री अब्बास अराघचीले यस घटनालाई “दर्जनौँ निर्दोष बालबालिकाको हत्या” भन्दै यसको कडा प्रतिवाद गरिने र यो घटना अनुत्तरित नहुने चेतावनी दिएका छन् ।
इरानभर शोक र आक्रोशको लहर
सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानका विभिन्न सहरहरूमा शोकको वातावरण छ । मध्य इरानको यासुज सहरमा हजारौँ मानिसहरू सडकमा उत्रिएर परम्परागत शैलीमा टाउको र छाती पिट्दै शोक मनाइरहेका छन् ।
लोरेस्तान प्रान्त र अन्य ग्रामीण भेगहरूमा पनि यस्तै दृश्यहरू देखिएका छन्, जहाँ खामेनीको सम्झनामा मानिसहरूले आक्रोश र दुःख व्यक्त गरिरहेका छन् ।
क्षेत्रीय उडानहरू ठप्प र इजरायलमा सायरन
तनावको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय उडानहरूमा पनि परेको छ । कतार एयरवेजले आफ्नो हवाई क्षेत्र बन्द भएकोले सबै उडानहरू स्थगित गरेको जानकारी दिएको छ । कतारी नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको सुनिश्चितता नगरेसम्म उडानहरू सुरु नहुने बताइएको छ ।
यसैबीच, इजरायलभित्र पनि खतराको घण्टी बजिरहेको छ । इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरू पत्ता लागेपछि इजरायलका धेरै क्षेत्रमा ‘एयर रेड’ सायरनहरू बजिरहेका छन् । इजरायली सेनाले आफ्नो रक्षा प्रणाली पूर्ण रूपमा अभेद्य नभएको स्वीकार गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।
इराकद्वारा तीन दिने राष्ट्रिय शोक घोषणा
इरानको छिमेकी राष्ट्र इराकले खामेनीको हत्यालाई “मानवीय र नैतिक मान्यताको उल्लंघन” भन्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । इराकी सरकारका प्रवक्ता बासिम अल–अवादीले खामेनीलाई ‘महान विद्वान र मुजाहिद’ को संज्ञा दिँदै यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको खुल्ला उल्लंघन भएको बताएका छन् ।
यस घोषणाले इराक र इरानबीचको गहिरो धार्मिक र राजनीतिक सम्बन्धलाई पुनः पुष्टि गरेको छ भने मध्यपूर्वमा अमेरिका विरोधी जनलहर अझै बढ्ने संकेत दिएको छ ।
नेतृत्व तहमा ठूलो क्षति र इरानको प्रतिशोध
इरानका लागि यो समय इतिहासकै सबैभन्दा कठिन सावित भएको छ । सर्वोच्च नेता खामेनी मात्र होइन, इरानको सुरक्षा संयन्त्रका मेरुदण्ड मानिने रक्षा मन्त्री अजिज नासिरजादेह, सेना प्रमुख अब्दुल रहिम मुसावी, र रिभोलुसनरी गाड्र्स (आईआरजीसी) का कमाण्डर–इन–चिफ मोहम्मद पाकपोरको पनि यसै हमलामा मृत्यु भएको आधिकारिक पुष्टि भएको छ ।
इरानी सञ्चारमाध्यम आईआरएनएका अनुसार यो हमलामा हालसम्म २४ प्रान्तमा कम्तीमा २०१ जनाको ज्यान गइसकेको छ ।
यसको बदलामा इरानी रिभोलुसनरी गाड्र्सले मध्यपूर्वमा रहेका २७ वटा अमेरिकी सैन्य अखडा र इजरायलको तेल अभिभमा भीषण आक्रमण सुरु गरेको छ ।
कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, जोर्डन, साउदी अरब र इराकमा रहेका अमेरिकी सैन्य शिविरहरूलाई लक्षित गरी इरानले छैटौँ चरणको आक्रमण गरिसकेको छ ।
दोहा र दुबई जस्ता सहरहरूमा विष्फोटका आवाजहरू सुनिएका छन् भने जोर्डनको आकाशमा इरानी मिसाइलहरू खसालिएको दाबी गरिएको छ ।
ट्रम्पको चेतावनी र अन्तर्राष्ट्रिय तनाव
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि इरानले कडा प्रहार गरेमा अमेरिकाले “अहिलेसम्म नदेखेको शक्ति” प्रयोग गरेर प्रतिकार गर्ने बताएका छन् ।
रोचक कुरा त के छ भने, केही समयअघि मात्रै अर्काको देशको शासन व्यवस्था बदल्ने नीतिको आलोचना गर्ने ट्रम्प अहिले इरानमा “स्वतन्त्रता” ल्याउने नाममा भीषण सैन्य आक्रमणको नेतृत्व गरिरहेका छन् ।
राजनीतिक विश्लेषकहरू यसलाई ट्रम्पको आफ्नै विचारधारा र चुनावी प्रतिबद्धता विपरितको कदम मान्छन्, जसले अमेरिकालाई भन्दा बढी इजरायललाई फाइदा पुरÞ्याउने उनीहरूको तर्क छ ।
इरानमा नयाँ नेतृत्वको तयारी
सर्वोच्च नेताको रिक्ततालाई पूर्ति गर्न इरानको संविधानको धारा १११ बमोजिम एक अन्तरिम काउन्सिल गठन गरिएको छ ।
राष्ट्रपति मसूद पेजेस्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोलाम–होसेन मोहसेनी–एजेई र गार्डियन काउन्सिलका एक धर्मगुरु सम्मिलित यो टोलीले नयाँ सर्वोच्च नेता चयन नभएसम्म देशको बागडोर सम्हाल्नेछ ।
राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले इजरायलले इरानलाई टुक्रा–टुक्रा पार्न खोजेको आरोप लगाउँदै इरानी जनताले यसको उचित मूल्य चुकाउन लगाउने बताएका छन् ।
शोक र आक्रोशको मिश्रण
तेहरान, मशहद र कोम जस्ता सहरहरूमा खामेनीका समर्थकहरू सडकमा उत्रिएर शोक मनाइरहेका छन् । विशेषगरी ऐतिहासिक सहर इसफाहानमा हजारौँको संख्यामा मानिसहरू जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।
यद्यपि, इरानी समाजमा एउटा ठूलो तप्का यस्तो पनि छ, जो वर्तमान शासन व्यवस्था र आर्थिक अवस्थाप्रति असन्तुष्ट छ ।
तर, विश्लेषक अब्बास असलानीका अनुसार बाह्य आक्रमणको यो घडीमा धेरै इरानीहरू आफ्नो झण्डामुनि गोलबद्ध हुन खोज्दैछन्, किनभने सिरिया वा अन्य छिमेकी देशको जस्तो अस्थिरता उनीहरू चाहँदैनन् ।
क्षेत्रीय प्रभाव र सुरक्षा सतर्कता
युद्धको रापले छिमेकी देशहरूलाई पनि निकै त्रसित बनाएको छ । जोर्डनस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ ।
धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । कतारको राजधानी दोहाको औद्योगिक क्षेत्रमा इरानी मिसाइल खसाल्दा सानो आगलागी भएको खबर छ, यद्यपि त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन ।
छिमेकी इराकमा पनि यसको असर देखिएको छ, जहाँ मुक्तादा अल–सदरले खामेनीको मृत्युमा दुःख व्यक्त गरेका छन् भने बगदादको ‘ग्रीन जोन’ मा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका विवरणहरू आएका छन् ।
इरानको संसदका सभामुख मोहम्मद बागेर घालिबाफले टेलिभिजनमार्फत सम्बोधन गर्दै इजरायल र अमेरिकालाई “अपराधी” को संज्ञा दिएका छन् र उनीहरूले यस्तो चोट सहनुपर्नेछ कि उनीहरू आफैँले भिख माग्ने स्थिति आउने चेतावनी दिएका छन् ।
मध्यपूर्व अहिले एउटा यस्तो ज्वालामुखीमाथि उभिएको छ, जसको विस्फोटले विश्व राजनीति र अर्थतन्त्रलाई नै अनिश्चिततातर्फ धकेल्ने जोखिम छ ।
–एजेन्सीहरुको सहयोग
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



