होर्मुज जलमार्ग बन्दको आशंका हुँदा विश्व तेल बजारमा हलचल, ०.६–०.७ प्रतिशत बढ्ने

होर्मुज जलमार्ग बन्दको आशंका हुँदा विश्व तेल बजारमा हलचल, ०.६–०.७ प्रतिशत बढ्ने
  • २० फाल्गुन २०८२, बुधबार १९:०७

काठमाडौं– अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि तेहरानले तीव्र प्रतिकार सुरु गरेको छ। इरानले इजरायलसहित कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, जोर्डन, साउदी अरेबिया, इराक र ओमानस्थित आफ्ना विरोधीका सम्पत्तिलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

mulpatra

यससँगै विश्लेषकहरूले विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्। इरानी अधिकारीहरूले विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक होर्मुज जलडमरू बन्द गर्न सक्ने संकेत गरेपछि ऊर्जा बजार उच्च सतर्कतामा पुगेको छ।

होर्मुज जलडमरूमध्य किन महत्वपूर्ण ?

mulpatra mulpatra mulpatra

होर्मुज जलडमरूमध्य एकातर्फ ओमान र संयुक्त अरब इमिरेट्स तथा अर्कोतर्फ इरानमा अवस्थित छ। यसले पर्सियन खाडीलाई ओमानको खाडी र अरब सागरमार्फत विश्व बजारसँग जोड्छ।

सबैभन्दा साँघुरो भागमा यसको चौडाइ करिब ३३ किलोमिटर मात्र छ भने जहाज आवत–जावत हुने मार्ग दुवैतर्फ करिब ३ किलोमिटर मात्र छ।

संयुक्त राज्य अमेरिकाको ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार सन् २०२४ मा दैनिक झण्डै २ करोड ब्यारेल कच्चा तेल यस जलमार्ग हुँदै ओहोरदोहोर भएको थियो, जसको वार्षिक कारोबार मूल्य करिब ५०० अर्ब डलर बराबर पर्छ। इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएईबाट निर्यात हुने तेल यही मार्ग हुँदै विश्व बजार पुग्छ।

Image Source: © https://mulpatra.com

तर यो मार्ग केवल तेलका लागि मात्र नभई एलएनजी (तरलीकृत प्राकृतिक ग्यास)का लागि पनि अत्यन्त महत्वपूर्ण छ। सन् २०२४ मा विश्वको झण्डै पाँचौं हिस्सा एलएनजी आपूर्ति यही बाटो हुँदै गएको थियो, जसमा कतार प्रमुख आपूर्तिकर्ता हो।

एशियामा ठूलो असर

ईआइएका अनुसार २०२४ मा होर्मुज हुँदै गएको कच्चा तेल र कन्डेन्सेटमध्ये ८४ प्रतिशत एशियाली बजारतर्फ गएको थियो। चीन, भारत, जापान र दक्षिण कोरियाले मात्र कुल आपूर्तिको ६९ प्रतिशत खपत गरेका थिए।

तेल मूल्यमा वृद्धि भए चीन, भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूमा उद्योग, यातायात र विद्युत् क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

जहाज आवागमनमा अवरोध

युरोपेली संघका एक अधिकारीका अनुसार होर्मुज हुँदै जाने जहाजहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) बाट “कुनै पनि जहाजलाई पार गर्न अनुमति छैन” भन्ने उच्च आवृत्तिको सन्देश पाएका छन्। यद्यपि इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द गरेको घोषणा भने गरेको छैन।

तनाव बढेसँगै धेरै ट्यांकर कम्पनीहरूले तेल र ग्यास ढुवानी अस्थायी रूपमा रोकेका छन्। जहाज ट्र्याकिङ डाटाअनुसार कम्तीमा १५० वटा तेल तथा एलएनजी ट्यांकरहरू जलडमरूमध्य बाहिर खुला समुद्रमा एंकर हालेर रोकिएका छन्।

तेल मूल्यमा कस्तो असर ?

ऊर्जा विश्लेषकहरुका अनुसार विश्वका झण्डै ३० प्रतिशत समुद्री मार्गबाट ओसारपसार हुने कच्चा तेल यही बाटो हुँदै जान्छ। साथै २० प्रतिशत जेट इन्धन र १६ प्रतिशत पेट्रोल तथा नाफ्था आपूर्ति पनि यही मार्गमा निर्भर छ।

यदि जलडमरूमध्य पूर्ण रूपमा बन्द भयो भने विश्व बजारमा कारोबार हुने तेलको झण्डै पाँचौं हिस्सा एकै रातमा अवरुद्ध हुनेछ। अन्तर्राष्ट्रिय संकट समूहका इरान परियोजना निर्देशक अली भाएजका अनुसार यस्तो अवस्था आए तेल मूल्य मात्र बढ्ने होइन, डरकै कारण बजारमा “अत्यधिक उछाल” देखिनेछ।

विश्व अर्थतन्त्रमा प्रभाव

ब्रिटेनस्थित क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री हमाद हुसेनका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेर केही समय त्यही स्तरमा टिकेमा विश्वव्यापी मुद्रास्फीति ०.६–०.७ प्रतिशतले बढ्न सक्छ। यसले केन्द्रीय बैंकहरूको मौद्रिक नीतिमा कडाइ ल्याउन सक्ने र कमजोर अर्थतन्त्र भएका मुलुकहरू मन्दीको जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

यसअघि गत जुनमा अमेरिका र इजरायलले इरानमाथि बमबारी गर्दा समुद्री गतिविधिमा प्रत्यक्ष अवरोध आएको थिएन। तर यसपटक ऊर्जा पूर्वाधार नै निशानामा परेपछि स्थिति गम्भीर बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

होर्मुज जलडमरूमध्यमा देखिएको अस्थिरताले केवल मध्यपूर्व मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रलाई हल्लाउने संकेत देखिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com