हिंसा भड्काउन सक्ने सुँगुरको टाउको बरामदपछि तराईमा प्रहरी सतर्कता बढाइयो

हिंसा भड्काउन सक्ने सुँगुरको टाउको बरामदपछि तराईमा प्रहरी सतर्कता बढाइयो
  • २० फाल्गुन २०८२, बुधबार १०:१८

काठमाडौं । तराईका जिल्लामा निर्वाचन नजिकिँदै जाँदा शान्ति–सुरक्षालाई मजबुत बनाउन प्रहरी सतर्कता बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षा र हिंसाका गतिविधि बढ्न सक्ने आकलन गर्दै प्रहरीले सतर्कता तीव्र पारेको हो। पर्सामा सुँगुरको टाउको र सुतली बमसहित तीन जनाको पक्राउले धार्मिक सद्भाव खल्बल्याउने योजनाबद्ध प्रयास भएको संकेत दिएको सुरक्षा निकायको विश्लेषण छ। मस्जिद परिसरमा सुँगुरको टाउको फ्याँकेर साम्प्रदायिक तनाव सिर्जना गर्ने तयारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा पुगेको हो।

mulpatra

प्रहरीका अनुसार बरामद गरिएको नौ थान सुतली बम, तारलगायतका सामग्रीले घटनालाई सम्भावित हिंसात्मक गतिविधिसँग जोडिएको देखाएको छ । धार्मिक रूपमा मुस्लिम समुदायबीच अविश्वास र आक्रोश फैलाउने रणनीति अपनाइएको हुन सक्ने अनुमान गरिएको छ। निर्वाचनको संवेदनशील समयमा यस्ता गतिविधिले स्थानीय स्तरमा मात्रै होइन, समग्र तराई क्षेत्रमा अस्थिरता निम्त्याउन सक्ने जोखिम औंल्याइएको छ।

घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित नियन्त्रणमा लिइएको छ । राजनीतिक प्रतिस्पर्धा चर्किंदै जाँदा अस्वस्थ रणनीति अपनाउने प्रवृत्ति देखिन सक्ने भन्दै सुरक्षा निकायले सबै दल र उम्मेदवारलाई संयमता अपनाउन आग्रह गरेको छ।

mulpatra mulpatra mulpatra

यस घटनापछि पर्सासहित बारा, रौतहट, सर्लाही लगायत तराईका जिल्लामा गस्ती, चेकजाँच र निगरानी बढाइएको छ। धार्मिक स्थल वरपर विशेष सुरक्षा प्रबन्ध मिलाइएको र सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सामग्रीमाथि पनि निगरानी कडा पारिएको जनाइएको छ।

तराई बहुजातीय, बहुधार्मिक र राजनीतिक रूपमा संवेदनशील भूगोल भएकाले सानो घटनाले पनि ठूलो असर पार्न सक्छ। त्यसैले सुरक्षा संयन्त्रको समयमैको हस्तक्षेपले सम्भावित द्वन्द्व टरेको मूल्याङ्कन गरिएको छ।