देशभर एकसाथ मतदान सुरु २३ हजार १ सय १२ केन्द्रमा मतदान हुँदै
काठमाण्डौं । प्रतिनिधिसभा सदस्य चयन गर्न विहिबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिएका छन्।

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुने भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरेर मतदान सुरु गरिएको उनको भनाइ छ।
आयोगका अनुसार यस पटक देशभर कुल मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको छ।
आयोगको तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मतदाता रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा बढी ३६ लाख ८२ हजार ३सय १० मतदाता र सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख ३७ हजार २ सय ५० जना मतदाता रहेका छन् । त्यसैगरि मधेश प्रदेशमा ३६ लाख ३६ हजार ४ सय १४, कोशी प्रदेश ३५ लाख ७४ हजार ३ सय १०, लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार ६ सय ८०, गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५, सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
निर्वाचनका लागि आयोगले देशभर १०,९६७ मतदान स्थल र २३,११२ मतदान केन्द्र निर्धारण गरेको छ। चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।
चुनावका लागि गृहमन्त्रालयले बुधबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ। तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन्। सरकारले निर्वाचनको अवसरमा २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिएको छ।



