पराजयको जिम्मेवारी लिन्छुः विश्वप्रकाश शर्मा
काठमाडौं । विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले भोगेको पराजयको जिम्मेवारी आफू लिन तयार रहेको बताएका छन्।

शनिबार सार्वजनिक गरिएको भिडियो वक्तव्यमा उपसभापति शर्माले पार्टी नेतृत्वमा रहेको नाताले पराजयको जिम्मेवारीबाट आफू पन्छिन नसक्ने स्पष्ट पारे। उनले भने, “पार्टी नेतृत्वमा रहेकाले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ। आवश्यक परे सम्पूर्ण दोष बोक्नुपरे पनि म त्यसका लागि तयार छु।”
शर्माले निर्वाचन परिणामलाई स्वीकार गर्दै जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले मुलुकको नेतृत्व गर्नेगरी जनताले दिएको जनमतलाई सम्मान गर्दै नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनआकर्षणलाई पनि स्वीकार गर्नुपर्ने धारणा राखे।
![]() |
![]() |
![]() |
|---|
उनले कांग्रेस लगायतका मूलधारका राजनीतिक दलहरूप्रति जनताको विश्वास किन घट्दै गएको हो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा गरिने बताए।
पूर्व महामन्त्री तथा हाल उपसभापतिका रूपमा पार्टीलाई अपेक्षित रूपमा रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने पनि उनले उल्लेख गरे। निर्वाचनमा सहभागी भएर लोकतन्त्रलाई सुदृढ बनाउन मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले कांग्रेसका तर्फबाट धन्यवाद व्यक्त गरे।
शर्माका अनुसार विशेष महाधिवेशनमार्फत पार्टीलाई परिवर्तनको सन्देश दिन प्रयास गरिए पनि त्यसका लागि पर्याप्त समय नपुगेको अवस्था थियो। विशेष महाधिवेशन सम्पन्न भएको करिब ५० दिनमै निर्वाचनमा जानुपरेको उनले बताए।
Image Source: © https://mulpatra.com
कांग्रेसको अवस्थालाई उनले ‘इन्जुरी टाइममा मैदानमा उत्रिएको खेलाडी’ र ‘भर्खरै अस्पतालबाट डिस्चार्ज भएको बिरामीलाई रेस्लिङ खेल्न पठाइएजस्तै’ भएको उदाहरण दिँदै पार्टीलाई पुनः सशक्त बनाउन आगामी दिनमा गम्भीर सुधार र आत्मसमीक्षा आवश्यक रहेको बताए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



