प्रतिनिधिसभा निर्वाचनः १६५ क्षेत्रको मतगणना सम्पन्न, कसको कति सिट?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै १२५ सिट जितेको छ। नेपाली काँग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिटमा विजय हासिल गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन पनि प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

धनुषा–१ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भए पनि उक्त क्षेत्रमा परेको मुद्दाका कारण प्रारम्भमा परिणाम रोकिएको थियो। पछि सर्वोच्च अदालतको आदेशपछि आयोगले हालको मतगणनाको आधारमा परिणाम सार्वजनिक गर्दै नेकपा उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गरेको छ र उनलाई निर्वाचित प्रमाणपत्रसमेत प्रदान गरिएको छ।
प्रदेशगत परिणाम हेर्दा कोशी प्रदेशका २९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १७ सिट जितेको छ भने नेकपा एमालेले ५ सिट, नेपाली काँग्रेसले ४ सिट र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। मधेश प्रदेशका ३२ क्षेत्रमा रास्वपाले ३० सिट जित्दा नेपाली काँग्रेस र नेकपाले एक–एक सिट जितेका छन्। बागमती प्रदेशका ३३ क्षेत्रमा रास्वपाले ३१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले एक–एक सिट जितेका छन्।
![]() |
![]() |
![]() |
|---|
गण्डकी प्रदेशका १७ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १५ सिट जितेको छ भने नेपाली काँग्रेसले २ सिट जितेको छ। लुम्बिनी प्रदेशका २६ क्षेत्रमा रास्वपाले २१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले २–२ सिट तथा एमालेले १ सिट जितेको छ। कर्णाली प्रदेशका १२ क्षेत्रमा नेपाली काँग्रेसले ५ सिट जितेको छ भने नेकपाले ४ सिट जितेको छ। एमाले, राप्रपा र रास्वपाले एक–एक सिट जितेका छन्। सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रमा रास्वपाले १० सिट जितेको छ भने नेकपा एमाले र नेपाली काँग्रेसले ३–३ सिट जितेका छन्।
यसपटकको निर्वाचनमा मधेशवादी दल तथा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन्। विगतमा कम्तीमा एक सिट जित्दै आएको नेपाल मजदुर किसान पार्टीको पनि यसपटक प्रतिनिधिसभामा प्रतिनिधित्व नहुने भएको छ।



