एमाले र नेकपा विहीन गण्डकी, ७ जिल्लामा रास्वपाको क्लिन स्वीप
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले प्रदेशको राजनीतिक समीकरणलाई बदलिदिएको छ। यसपटकको निर्वाचन परिणामअनुसार गण्डकी प्रदेश कम्युनिष्ट दलविहीन बनेको छ। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका कुनै पनि उम्मेदवार प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि विजयी हुन सकेनन्।

विसं २०७९ को निर्वाचनमा गण्डकीबाट नेकपा (एमाले) ले पाँच तथा नेपाल कम्युनिष्ट पार्टीले दुई क्षेत्रमा जित हासिल गरेका थिए। तर यसपटक भने दुवै दलको प्रतिनिधित्व शून्यमा झरेको छ।
अघिल्लो निर्वाचनमा १० क्षेत्रमा जित निकालेर बलियो उपस्थिती देखाएको नेपाली काँग्रेस पनि यसपटक गण्डकीमा कमजोर बनेको छ। काँग्रेस दुई सिटमा मात्र सीमित रह्यो। मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ विजयी हुँदै काँग्रेसको प्रतिनिधित्व कायम राखेका हुन्।
![]() |
![]() |
![]() |
|---|
यस निर्वाचनमा सबैभन्दा ठूलो उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको छ। प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले गण्डकीमा ऐतिहासिक सफलता प्राप्त गरेको हो।
रास्वपाले कास्की, बागलुङ, स्याङ्जा, तनहुँ, नवलपुर, लमजुङ, पर्वत र गोरखालगायत अधिकांश जिल्लामा जित हात पारेको छ। कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन्। कास्की–१ बाट खड्कराज पौडेल, कास्की–२ बाट उत्तमप्रसाद पौडेल र कास्की–३ बाट बिना गुरुङ संसद् पुगेका हुन्।
बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। बागलुङ–१ बाट सुशील खड्का र बागलुङ–२ बाट सोम शर्मा विजयी बने। स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवारले विजय हासिल गरेका छन्। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट छविलाल डुम्रे संसद्मा पुगेका हुन्।
Image Source: © https://mulpatra.com
तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ। तनहुँ–१ बाट स्वर्णिम वाग्ले र तनहुँ–२ बाट श्रीराम न्यौपाने विजयी बने।
नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी भएका छन्। नवलपुर–१ बाट राजन गौतम र नवलपुर–२ बाट मनिष खनाल संसद्मा पुगेका छन्।
यस्तै, लमजुङबाट धर्मराज केसी र पर्वतबाट सागर भुसाल विजयी बनेका छन्। गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। गोरखा–१ बाट सुदन गुरुङ र गोरखा–२ बाट कवीन्द्र बुर्लाकोटी विजयी भएका हुन्।
यसपटक म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



