साउदी अरबबाट नेपाल फर्कन चाहनेलाई दूतावासमा कागजात बुझाउन निर्देशन
काठमाडौँ । परराष्ट्र मन्त्रालयले साउदी अरबमा रहेका र अत्यावश्यक कारणले नेपाल फर्किन चाहने नेपाली नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार राहदानी र भिसाको फोटोकपीसहित यात्रा योजनाको विवरण दूतावासमा बुझाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयले पश्चिम एसियाका केही स्थानबाट सीमित मात्रामा हवाई उडान सञ्चालन भइरहेकाले हाल उपलब्ध उडानमार्ग प्रयोग गरेर नेपाल फर्किन सकिने जनाएको छ। नेपालतर्फको उडान व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायसँग छलफल तथा समन्वय भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै, पश्चिम एसियामा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गर्न कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरिसकेको मन्त्रालयले जनाएको छ। सोही विवरणका आधारमा आवश्यक पहल तथा व्यवस्थापन गरिने बताउँदै मन्त्रालयले स्थानीय निकाय र नेपाली नियोगले जारी गरेका सुरक्षा सम्बन्धी सूचनाहरू पालना गर्न सबैलाई आग्रह गरेको छ।
![]() |
![]() |
![]() |
|---|



