उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग
काठमाडौं– ग्यास विक्रेता महासंघ नेपालले संकटका बेला उपभोक्ता ठग्ने विक्रेता र ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने विक्रेता र ग्यास उद्योगीहरूलाई कारबाही गर्न माग गरेको हो । महासंघले बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ । तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ । महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
’यस विषय परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बेसि मूल्य लिइ बिक्री वितरण गर्नु गम्भीर अपराध भएकोले कँही कतै त्यसो हुन गएको भए उक्त गैर कानुनी काम नगर्न आम विक्रेतालाई यसै विज्ञप्ति मार्फत अपिल गर्दछौँ । साथै यस खालको विषम परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिने विक्रेता तथा उद्योगलाई कानुनी कारवाही गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन समेत महासंघले निर्देशन दिएको छ ।



