निर्यात बढ्दा पनि व्यापार घाटा पुग्यो ९ खर्ब ५५ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट हुने वस्तु निर्यात उल्लेखनीय रूपमा बढे पनि व्यापार घाटा भने झन् बढेर ९ खर्ब ५५ अर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म कुल वस्तु निर्यात ३२.२० प्रतिशतले वृद्धि भई १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ४६.५ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात ४०.३ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ ९.४ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ५५.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यात भने घटेको छ।
यता सोही अवधिमा वस्तु आयात १३.६ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा आयात १०.१ प्रतिशतले बढेको थियो।
मुलुकका आधारमा भारतबाट हुने आयात ५.५ प्रतिशतले बढेको छ भने चीनबाट २२.३ प्रतिशत र अन्य मुलुकबाट २९.५ प्रतिशतले वृद्धि भएको छ।
Image Source: © https://mulpatra.com
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र सुनको आयात बढेको छ। तर हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एमएस बिलेट, तार, छड तथा बारको आयात घटेको छ।
निर्यातमा सुधार देखिए पनि आयातको तुलनामा वृद्धि दर कम भएकाले समग्र व्यापार घाटा बढेर १०.९ प्रतिशतले वृद्धि हुँदै ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा ६.२ प्रतिशतले बढेको थियो।
यद्यपि समीक्षा अवधिमा निर्यात–आयात अनुपात भने केही सुधार हुँदै १५ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



