इन्धन बोकेर भारत आउँदै गरेको जहाज ‘मयुरी नारी’ हर्मुज जलमार्गमा ध्वस्त
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारततर्फ जाँदै गरेको थाइल्याण्डको झण्डावाहक मालबाहक जहाज ‘मयुरी नारी’ माथि हर्मुज जलमार्गमा आक्रमण भएको छ ।

रोयल थाई नेभीका अनुसार बुधबार भएको यस आक्रमणको जिम्मेवारी इरानले लिएको छ । थाई कम्पनी ‘प्रिसियस सिपिङ’को स्वामित्वमा रहेको यो जहाज यूएईको खालिफा पोर्टबाट भारतको काण्डला पोर्टतर्फ प्रस्थान गरेको केही समयमै आक्रमणमा परेको हो ।
विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इरानले शृंखलाबद्ध आक्रमण गर्दै आएको छ । इरानी रिभोल्युसनरी गाड्र्सले जहाजले चेतावनीलाई बेवास्ता गरेको भन्दै आक्रमण गरेको दाबी गरेको छ । आक्रमणका कारण जहाजको इन्जिन कोठामा आगलागी भएको र ठूलो क्षति पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
जहाजमा रहेका कुल २३ चालक दलका सदस्यमध्ये २० जनालाई ओमानको नौसेनाले सफलतापूर्वक उद्धार गरेको छ। उद्धार गरिएका नाविकहरूलाई ओमानको खसाबमा लगिएको छ । बाँकी ३ जना नाविकहरू अझै बेपत्ता छन् र उनीहरू इन्जिन कोठामा थुनिएको हुन सक्ने आशंका गरिएको छ ।
यस आक्रमणले मध्यपूर्वमा जारी तनावलाई थप चर्काएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको बदलामा इरानले हर्मुज जलमार्ग भएर हुने ढुवानीमा अवरोध पु¥याउँदै आएको छ । यो जलमार्ग विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील मानिन्छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।



