एसियाकै पहिलो र्याफ्टिङ स्कुल, उद्योग वाणिज्य महासंघको टोलीद्वारा निरीक्षण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ चनौटेस्थित भोटेकोशी नदीकिनारमा निर्माण भएको एसियाकै पहिलो र्याफ्टिङ स्कुलको नेपाल उद्योग वाणिज्य महासंघको टोलीले निरीक्षण गरेको छ। जलपर्यटन र साहसिक खेलको विकास गर्ने उद्देश्यले निर्माण गरिएको ‘नेसनल ह्वाइट वाटर स्कुल बलेफी’ को प्रगति तथा सम्भावनाबारे महासंघको टोलीले स्थलगत अवलोकन गरेको हो।

भोटेकोशी नदीको किनारमा करिब १३ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त स्कुलको पूर्वाधार निर्माण लगभग पूरा भइसकेको छ। नदी नजिकै झन्डै २० रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा कक्षाकोठा, प्रशिक्षण हल, सम्मेलन कक्ष, पौडीपोखरी तथा र्याफ्टिङ तालिमका लागि आवश्यक संरचनाहरू तयार पारिएको छ। विद्यालय आगामी बैशाख महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
निरीक्षणका क्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले यस किसिमका संस्थागत तालिम केन्द्रहरूले पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। महासंघको चैत्र २९ गते हुने निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षको उम्मेदवारका रुपमा रहेका शिवप्रसाद अधिकारीले र्याफ्टिङ, वाटर रेस्क्यु तथा पानीसँग सम्बन्धित साहसिक खेलका लागि दक्ष जनशक्ति उत्पादनमा यो स्कुल महत्वपूर्ण हुने र महासंघले स्कुलको विकासका लागि हरसम्भव प्रयास गर्ने बताएका छन्।
![]() |
![]() |
![]() |
|---|
नेपालमा र्याफ्टिङ सुरु भएको झण्डै ५० वर्ष भइसके पनि यस क्षेत्रमा अध्ययन, अनुसन्धान तथा व्यवस्थित तालिम केन्द्रको अभाव रहेको अवस्थामा यस्ता स्कुलहरुले पर्यटन तथा रोजगारीका अवसर सिर्जना गर्ने समेत अधिकारीले बताएका छन् ।
हाल नेपालमा करिब सात हजार र्याफ्टिङ गाइड कार्यरत रहेको अनुमान गरिएको छ। तर तालिम प्राप्त धेरै गाइड विदेश जाने प्रवृत्तिका कारण दक्ष जनशक्तिको अभाव देखिँदै आएको छ। नेपालमा मासिक करिब ४० हजार रुपैयाँ आम्दानी हुने रिभर गाइडले विदेशमा भने तीनदेखि १० लाख रुपैयाँसम्म कमाउने गरेका छन्।
र्याफ्टिङ एसोसिएसनका पुर्व अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारीले नाथम, स्थानीय सरकार, प्रदेश सरकार तथा पर्यटन व्यवसायीबीच समन्वय गरेर विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाएका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



