महासंघमा चुनावी सरगर्मीः ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशानिर्देश’ कार्यक्रमले दिएको सन्देश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयन नजिकिँदै गर्दा चुनावी सरगर्मी तीव्र बनेको छ। ६०औँ वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुने तयारीबीच प्रतिस्पर्धी समूहहरू आ–आफ्नो पक्षमा मत आकर्षित गर्न सक्रिय भएका छन्।

यसै सन्दर्भमा, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थनमा वस्तुगत संघका उपाध्यक्षको उम्मेदवार रहेका शिवप्रसाद घिमिरे समूहले आयोजना गरेको ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशानिर्देशः निजी क्षेत्रको भूमिका र अपेक्षा’ कार्यक्रमले चुनावी माहोललाई पदको प्रतिस्पर्धा भन्दा माथि उठाएर अर्थतन्त्रको बहसतर्फ केन्द्रित गर्न खोजेको सन्देश दिएको छ।
नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा सम्पन्न उक्त कार्यक्रममा निजी क्षेत्र, अर्थशास्त्री र सरोकारवालाहरूबीच वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल भएको थियो। कार्यक्रमले नेपालको अर्थतन्त्र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ भन्ने सन्देश दिएको छ ।
![]() |
![]() |
![]() |
|---|
कार्यक्रममा बोल्दै शिवप्रसाद घिमिरेले राजनीतिक परिवर्तनसँगै आर्थिक क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुने सम्भावना रहेको उल्लेख गरे। तर नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्रलाई अघि बढ्न अवरोध गरिरहेको उनको भनाइ थियो। उनले दीर्घकालीन र स्थिर आर्थिक नीति, लगानी सुरक्षाको सुनिश्चितता तथा कर प्रणाली सुधारमा जोड दिए।
कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा गौचनले अन्तर्राष्ट्रिय परिस्थिति—विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्व—ले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे चेतावनी दिएका थिए। उनले उत्पादनमुखी अर्थतन्त्र, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरे। नेपालमा सियो पनि उत्पादन हुँदैन भन्ने भाष्य बनाइएको भन्दै गौचनले सियो उत्पादन गर्नु ठिक हो कि होइन भन्ने निष्कर्षमा पुग्नु पहिलो कुरो रहेको बताए ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको राजनीतिक स्थिरताको माग हालैको जनादेशले सम्बोधन गर्ने संकेत दिएको बताए। उनले लगानी सुरक्षाको सुनिश्चितता र निजी क्षेत्रमैत्री नीतिको कार्यान्वयनमा जोड दिए।
Image Source: © https://mulpatra.com
पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले भने चुनावलाई अनावश्यक रूपमा भड्किलो बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै वास्तविक आर्थिक मुद्दामा केन्द्रित बहस आवश्यक रहेको बताए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका सुझावहरूलाई आगामी नीति निर्माणमा उपयोग गर्ने प्रतिबद्धता जनाए। उनले ‘लाइन होइन, अनलाइन’ अवधारणामार्फत सेवा प्रवाह सुधार, करको बोझ न्यूनीकरण र व्यवसाय सञ्चालनमा सहजीकरण आवश्यक रहेको उल्लेख गरे।
वस्तुगत संघका उपाध्यक्षको उम्मेदवार रहेका शिवप्रसाद घिमिरेले आयोजना गरेको उक्त कार्यक्रमले महासंघको चुनाव केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई देशको आर्थिक दिशानिर्देशसँग जोडिएको बहस बन्नुपर्ने सन्देश दिएको छ। सहभागीहरूले अर्थतन्त्रलाई दिगो, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन सरकार–निजी क्षेत्र सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।
यसले स्पष्ट देखाएको छ कि एफएनसीसीआईको आगामी नेतृत्व कसले सम्हाल्छ भन्ने मात्र होइन, त्यो नेतृत्वले नेपालको अर्थतन्त्रलाई कुन दिशामा लैजान्छ भन्ने प्रश्न अहिलेको केन्द्रीय बहस बनेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



