कांग्रेस विवादः देउवा समूहले छुट्टै केन्द्रीय समितिको बैठक बोलाउने
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ। आइतबार धुम्बाराहीमा बसेको देउवा समूहका नेताहरूको बैठकले केन्द्रीय समिति बैठक बोलाएर पछिल्लो निर्वाचनको समीक्षा गर्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

बैठकले केन्द्रीय समिति बैठक बोलाउने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ। बैठकको मिति र स्थान शीर्ष नेताहरूसँगको छलफलपछि तय गरिने जनाइएको छ। देउवा समूहसँगै डा. शेखर कोइराला समूहका नेताहरू पनि उक्त निर्णयमा सहभागी भएका थिए ।
यसअघि विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भए पनि देउवा र कोइराला समूहले त्यसलाई अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त मुद्दा अहिले विचाराधीन अवस्थामा छ। यद्यपि निर्वाचन आयोगले भने थापा नेतृत्वलाई आधिकारिकता दिइसकेको छ, जसको नेतृत्वमा कांग्रेसले हालैको निर्वाचनमा भाग लिएको थियो।
![]() |
![]() |
![]() |
|---|
पार्टीभित्र देखिएको गुटगत असहमति निर्वाचन परिणाममा पनि प्रभावशाली बनेको आरोप प्रत्यारोप जारी छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रारम्भिक समीक्षामा केही नेताहरूको असहयोगका कारण अपेक्षित परिणाम नआएको उल्लेख गरिएको छ भने देउवा समूहका नेताहरूले भने आफूहरूले पार्टीका पक्षमा पूर्ण रूपमा काम गरेको दाबी गरेका छन्। कांग्रेसभित्रको यो विवाद अब सर्वोच्च अदालतको निर्णयपछि मात्र समाधानतर्फ जाने देखिएको छ।



