निर्यात बढे पनि व्यापार घाटा ११ खर्ब पुग्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि व्यापार घाटा झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा निर्यातमा उल्लेखनीय वृद्धि देखिए पनि आयातको उच्च आकारका कारण समग्र व्यापार सन्तुलन कमजोर नै रहेको छ।

यस अवधिमा कुल आयात १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने निर्यात २०.८३ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। निर्यातको वृद्धिदर उत्साहजनक देखिए पनि आयातको तुलनामा यसको हिस्सा अझै न्यून हुँदा व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
विशेषगरी भारत र चीन सँगको व्यापार असन्तुलनले घाटा चुलिएको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ भने चीनसँग पनि २ खर्बभन्दा बढी घाटा देखिएको छ। पेट्रोलियम पदार्थ, कच्चा भटमास तेल, फलामजन्य सामग्री र स्मार्टफोनजस्ता वस्तुको ठूलो आयातले व्यापार घाटा बढाउन सहयोग गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि, निर्याततर्फ भटमास तेल, अलैँची, कार्पेटलगायत वस्तुको निर्यातमा वृद्धि देखिएको छ।



