नेपाली भूमिमा भारत–चीन एकतर्फी सक्रियताः लिपुलेक नाकाबाट ६ वर्षपछि पुनः व्यापार सञ्चालनमा ल्याउँदै
काठमाडौ– नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको लिपुलेक नाका ६ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ ।

लिपुलेक भञ्ज्याङमार्फत् आगामी जुन महिनादेखि भारतले चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको हो । जुनदेखि सेप्टेम्बरसम्मका लागि खुल्ने यो व्यापारिक मार्गले दुई देशबीचको हिमाली व्यापारलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको टाइम्स अफ इन्डियामा भनिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार भारतको परराष्ट्र मन्त्रालयले उत्तराखण्डको पिथौरागढ जिल्ला प्रशासनलाई यसबारे जानकारी गराइसकेको छ । भने नाका सञ्चालनका लागि आवश्यक भन्सार, बैंक, दूरसञ्चार र सुरक्षा निकायहरूसँग समन्वय बैठकहरू सम्पन्न भइसकेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सन् २०२० मा कोभिड–१९ महामारी र सीमा क्षेत्रमा उत्पन्न तनावका कारण बन्द गरिएको यो ऐतिहासिक व्यापारिक मार्ग पुनः सञ्चालनका लागि भारतीय पक्षले आन्तरिक तयारी तीव्र पारेको छ ।
लिपुलेक नाकाको इतिहास निकै लामो र जटिल छ। सन् १९६२ को भारत–चीन युद्धपछि बन्द भएको यो मार्ग सन् १९९२ मा पुनः खोलिएको थियो र सन् २०२० सम्म निरन्तर सञ्चालनमा थियो ।
गत वर्षदेखि सोही मार्ग भएर कैलाश मानसरोवर यात्रा सुरु भएपछि स्थानीय व्यापारीहरूले व्यापारिक नाका पनि खोल्न दबाब दिँदै आएका थिए । करिब १७ हजार ५०० फिटको उचाइमा रहेको यो भञ्ज्याङले भारतलाई तिब्बतको ताक्लाकोट (पुरान) सँग जोड्दछ ।
Image Source: © https://mulpatra.com
पूर्वाधारको विकासले यस पटक व्यापारको परिमाण बढ्ने अनुमान गरिएको छ । सन् २०२० मा मोटर गुड्ने सडक निर्माण सम्पन्न भइसकेकाले अब सामान ओसारपसार गर्न खच्चड र भेडाको भर पर्नुपर्ने छैन ।
यसले ढुवानी खर्च र समय दुवै बचत गर्नेछ। गुन्जीमा रहेको व्यापारिक केन्द्रमा बैंक, भन्सार, दूरसञ्चार र सुरक्षा निकायहरूको व्यवस्थापन गर्न अधिकारीहरू जुटिसकेका छन् ।
यस नाकाको पुनः सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र क्षेत्रको सीमापार व्यापारिक सम्बन्धलाई पुनः जीवित तुल्याउने विश्वास गरिएको छ ।
यद्यपि, यो नाका पुनः सञ्चालनमा आउनुलाई भू–राजनीतिक दृष्टिकोणले निकै संवेदनशील मानिएको छ। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ ।
सन् २०२० मा भारतले धारचुलादेखि लिपुलेकसम्म जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाएको थियो भने आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।
नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ नेतृत्वको उदयले यो विषयलाई कसरी अगाडि बढाउँछ भन्ने चासोको विषय बनेको छ ।
त्रिदेशीय बिन्दुमा रहेको यस क्षेत्रको विवादले गर्दा आगामी दिनमा राजनीतिक रूपमा यो कत्तिको सहज हुन्छ भन्ने कुरा नेपाल, भारत र चीनको कूटनीतिक पहलमा निर्भर रहनेछ ।
भिडियो विश्लेषणः
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



