टोखामा चल्यो डोजर, सार्वजनिक जग्गामा घर टहरा बनाई भाडा असुली धन्दा
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकाको वडा नम्बर ७ स्थित दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनाहरू भत्काएको छ ।

प्राधिकरणका अनुसार उक्त क्षेत्रमा करिब १० रोपनी जग्गा अतिक्रमण गरी टहराहरू निर्माण गरिएका थिए । ती संरचनाहरू हटाउन प्राधिकरणले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना भत्काइएको हो ।
प्राधिकरणले पछिल्लो पटक २०८२ साल असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरेको थियो । तर, स्थानीय तह र सम्बन्धित व्यक्तिहरूले उक्त सूचनाको बेवास्ता गरेपछि प्राधिकरणले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरी बल प्रयोग गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाएर भाडा असुली धन्दा भइरहेको थियो । सार्वजनिक जग्गा व्यक्तिको लाभका लागि प्रयोग भएको पाइएपछि प्राधिकरणले भत्काएको हो ।



