ग्याँसको विकल्प बन्दै विद्युतीय चुलो
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण विश्व ऊर्जा आपूर्ति प्रणाली अस्थिर बन्दै जाँदा यसको असर प्रत्यक्ष रूपमा घरायसी भान्सासम्म देखिन थालेको छ । पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्तिमा अनिश्चितता बढेसँगै उपभोक्ताहरू वैकल्पिक ऊर्जातर्फ आकर्षित हुन थालेका छन् ।

नेपालमा ग्यास अभाव हुन सुरु गरेपछि विद्युतीय चुलो, विशेषगरी इन्डक्सन र इन्फ्रारेड चुलोको विक्री बढेको मैतिदेवीका एक व्यवसायीले बताएका छन् । नेपालमा विद्युत व्यवस्थापन सहज हुँदै गएपछि विद्युतिय चुलो प्रयोग गर्ने क्रम बढेको व्यवसायीको भनाइ छ । इरान इजरायल युद्धले विश्वभरी तेल र ग्यास अभाव हुन सूर गरेपछि विश्व बजारमै विद्युतीय चुलोको माग तीव्र गतिमा बढिरहेको समाचारहरु प्रकाशित भएका छन् ।
नेपालको भन्सारको डाटा अनुसार चालु आर्थिक वर्षको आठ महिनामा मात्रै १ लाख ४७ हजारभन्दा बढी विद्युतीय चुलो आयात भएका छन्, जसमा इन्डक्सन चुलोको हिस्सा सबैभन्दा बढी छ । ग्यास अभावको त्रास र लाइन बस्नुपर्ने अवस्थाका कारण बजारमा विद्युतीय चुलोको माग ५० देखि ७० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
यसअघि २०७२ सालको नाकाबन्दीका बेला जस्तै अहिले पनि नेपाली उपभोक्ता पुनः विद्युतीय चुलोतर्फ फर्किँदै छन् । यदि सरकारले कर छुट, प्रोत्साहन नीति र स्थानीय उत्पादनमा जोड दिन सके विद्युतीय चुलो दीर्घकालीन रूपमा ग्यासको प्रभावकारी विकल्प बन्न सक्छ । जसले आयात घटाउन मद्धत गर्दछ ।



