प्रमाण नष्ट हुने भन्दै देउवाको घर भत्काउन रोकियो
काठमाडौं । सरकारले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ। ‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीपछि उक्त घरलाई अनुसन्धानका लागि महत्वपूर्ण प्रमाणस्थल मान्दै यथास्थितिमा सुरक्षित राख्न यस्तो निर्णय गरिएको सुरक्षा स्रोतले जनाएको छ।

आन्दोलनको दोस्रो दिन देउवा निवासमा आगजनी भएको थियो। घटनापछि घरभित्र ठूलो परिमाणमा नगद जलेको दाबी सार्वजनिक भएपछि यसले थप जिज्ञासा र विवाद सिर्जना गरेको छ। जलेको नगदको स्रोत, परिमाण तथा त्यससँग सम्बन्धित सम्भावित अनियमितता पहिचान गर्न पुनः अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रहरीलाई घटनास्थल सुरक्षित राख्न र कुनै पनि संरचना भत्काउन नदिन स्पष्ट निर्देशन दिइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा भौतिक प्रमाण नष्ट हुनसक्ने जोखिम देखिएकाले घर भत्काउने कार्य रोकेको बताइएको छ।
![]() |
![]() |
![]() |
|---|
यसैबीच, देउवा र उनकी पत्नी आरजु राणा निर्वाचनअघि नै सिंगापुर गएको प्रसंग पनि चर्चामा आएको छ। स्रोतका अनुसार, अघिल्लो सरकारले घटनामा पर्याप्त चासो नदेखाएको अवस्थामा घर भत्काउने तयारी अघि बढाइएको आशंका गरिएको थियो। तर नयाँ सरकारले हस्तक्षेप गर्दै उक्त प्रक्रिया रोकेपछि अनुसन्धान पुनः सक्रिय हुने संकेत देखिएको छ।
उक्त प्रकरणले राजनीतिक तथा कानुनी वृत्तमा नयाँ बहस सुरु गराएको छ। यदि जलेको नगदसम्बन्धी ठोस तथ्य बाहिर आएमा उच्चस्तरीय आर्थिक पारदर्शिता र जवाफदेहिताको प्रश्न अझ सशक्त रूपमा उठ्ने विश्लेषण गरिएको छ।
यसै सन्दर्भमा, हालै गठन भएको सरकारले २०४८ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसमेत गरेको छ, जसले उच्चपदस्थहरूको सम्पत्ति स्रोतबारे थप निगरानी बढाउने अपेक्षा गरिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



