कक्षा ५ सम्म परीक्षा खारेज, विद्यार्थी संगठन हटाई काउन्सिल गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विद्यालय तहको शिक्षा प्रणालीमा महत्वपूर्ण सुधार गर्दै कक्षा ५ सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत यस्तो व्यवस्था सार्वजनिक गरिएको हो ।

सरकारले कलिला बालबालिकामाथि परीक्षाको अनावश्यक दबाब र मनोवैज्ञानिक त्रास घटाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म पास–फेलको प्रणाली नै अन्त्य गर्ने जनाएको छ । यसका सट्टा विद्यार्थीको समग्र विकासमा सहयोग पुग्ने गरी नयाँ प्रकारको आन्तरिक मूल्याङ्कन प्रणाली लागू गरिने बताइएको छ ।
शिक्षाविद्हरूले लामो समयदेखि उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले रटाउने परम्परागत प्रणाली हटाएर सिर्जनात्मक, व्यवहारिक र बालमैत्री मूल्याङ्कन पद्धतिमा जोड दिने स्पष्ट पारेको छ ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, शिक्षा क्षेत्रमा देखिँदै आएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकारले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेको छ । सरकारले विद्यार्थीहरूको स्वतन्त्र आवाज सुनिश्चित गर्न ९० दिनभित्र ‘विद्यार्थी काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्ने योजना अघि सारेको छ ।
सरकारका अनुसार नयाँ काउन्सिल प्रणालीले विद्यार्थीका वास्तविक समस्या, सुझाव र सहभागितालाई संस्थागत रूपमा सम्बोधन गर्नेछ । दलीय प्रभावबाट मुक्त भई विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ ।
शिक्षा क्षेत्रमा गुणस्तर सुधार, निष्पक्ष वातावरण निर्माण तथा बालबालिकाको मानसिक स्वास्थ्य संरक्षणलाई केन्द्रमा राख्दै सरकारले यी सुधारात्मक निर्णयहरू कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



