के कांग्रेस फुटतर्फ अघि बढेको हो ?

के कांग्रेस फुटतर्फ अघि बढेको हो ?
  • १६ चैत्र २०८२, सोमबार १६:४२

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको समूहले एकपछि अर्को भेला र बैठकको तयारी थालेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। पछिल्ला गतिविधिले पार्टी दुई धारमा स्पष्ट रूपमा विभाजित हुँदै गएको संकेत देखिएको छ।

mulpatra

देउवा पक्षले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रमसँगै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक र जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको छ। देउवा विदेशमा रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका पूर्णबहादुर खड्का ले यी सबै गतिविधि अघि बढाइरहेका छन्।

तर, पार्टीको संस्थापनइतर समूह भने गगन थापा नेतृत्वमा भएको विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई वैध मान्दै आएको छ। निर्वाचन आयोगले समेत उक्त महाधिवेशनलाई मान्यता दिइसकेको अवस्थामा देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ र मुद्दा अझै विचाराधीन छ।

mulpatra mulpatra mulpatra

यही विवादका कारण कांग्रेसभित्र दुईवटा समानान्तर शक्ति केन्द्र देखिएका छन्। एकातिर देउवा पक्षले पुरानो (१४औँ महाधिवेशन) कार्यसमितिलाई सक्रिय बनाउने प्रयास गरिरहेको छ भने अर्कोतर्फ संस्थापनइतर समूह नयाँ संरचनाअनुसार अघि बढ्न चाहिरहेको छ।

देउवा पक्षले आयोजना गर्न लागेको बैठकहरूमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, नेताहरूको पक्राउ, तथा भावी रणनीतिजस्ता विषयमा छलफल हुने बताइएको छ। यसले पार्टीभित्र रणनीतिक ध्रुवीकरण अझ गहिरो बनाउने देखिन्छ।

यता संस्थापन पक्षले पनि समानान्तर रूपमा अनुशासन समितिको बैठक बोलाउने लगायत गतिविधि अघि बढाएको छ। दुबै पक्षबीच औपचारिक संवादको अभाव र एकअर्काका निर्णयप्रति असन्तुष्टि बढ्दै जाँदा पार्टी एकतामा चुनौती थपिएको छ।

Image Source: © https://mulpatra.com

विशेषगरी १५औँ महाधिवेशनको तयारी, कार्यसमितिको वैधानिकता, र नेतृत्वको अधिकारका विषयमा स्पष्ट सहमति नहुँदा कांग्रेसभित्रको विवाद चर्किंदै गएको छ। केही नेताहरूले दुवै संरचनालाई मिलाएर अघि बढ्नुपर्ने प्रस्ताव राखे पनि ठोस सहमति बन्न सकेको छैन।

यस अवस्थाले नेपाली कांग्रेस फुटको दिशातर्फ उन्मुख भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। यद्यपि, औपचारिक रूपमा कुनै पनि पक्षले फुटको घोषणा नगरे पनि निरन्तर समानान्तर गतिविधि र कानुनी विवादले पार्टीभित्रको दूरी बढाउँदै लगेको देखिएको छ । यसलाई केही नेताहरुले फुट तर्फ अग्रसर भएको समेत बताएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com