शेयर बजार घट्ने क्रम रोकिएन
काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेपाली शेयर बजारमा गिरावटको क्रम रोकिएन। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा झरेको छ। यससँगै नयाँ सरकार गठन भएयता लगातार दोस्रो दिन बजार ओरालो लाग्दै कुल ११९ अंकको गिरावट देखिएको छ। बजार खुल्दा केही समय सम्हालिएको देखिए पनि मध्याह्नपछि तीव्र दबाबमा परेको थियो।

कारोबार रकममा समेत कमी आएको छ। आज कुल ३४१ कम्पनीका ३ करोड १६ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको देखिन्छ। बजारमा व्यापक बिक्री चाप देखिँदा २३७ कम्पनीको शेयर मूल्य घटेको छ भने जम्मा २६ कम्पनीको मात्रै वृद्धि भएको छ, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत सूचकहरू सबैजसो राताम्मे भएका छन्। व्यापार समूह सबैभन्दा बढी २.५६ प्रतिशतले घट्दा बैंकिङ, फाइनान्स, हाइड्रोपावर, बीमा लगायतका क्षेत्र पनि उल्लेख्य रूपमा ओरालो लागेका छन्। यद्यपि समग्र बजार नकारात्मक रहँदा पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ, जसले लगानीकर्तामा मिश्रित संकेत दिएको छ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समय देखिएको राजनीतिक अन्योल, सरकारी छानबिन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कडाइका कारण लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढेको छ। यही कारण बजारमा बेच्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। जबसम्म राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता आउँदैन, बजारमा सुधार आउन समय लाग्ने अनुमान गरिएको छ।



