कृषि रूपान्तरणको अगुवा: कृषि उद्यम केन्द्र (एईसी)

राजकुमार कार्की

कृषि रूपान्तरणको अगुवा: कृषि उद्यम केन्द्र (एईसी)राजकुमार कार्की
  • २४ चैत्र २०८२, मंगलवार २०:३३

नेपाल कृषि प्रधान देश हो भन्ने कथन धेरै वर्षदेखि दोहोरिँदै आएको छ, तर कृषि क्षेत्रलाई वास्तविक अर्थमा व्यवसायिक, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने प्रयास भने सीमित नै रहँदै आएका थिए। यही सन्दर्भमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत स्थापित कृषि उद्यम केन्द्र (एईसी) ले कृषि क्षेत्रलाई परम्परागत उत्पादन प्रणालीबाट आधुनिक व्यवसायिक ढाँचामा रूपान्तरण गर्ने अभियानको अगुवाइ गर्दै आएको छ।

mulpatra

सन् १९९१ मा स्थापना भएको यस संस्थाले निजी क्षेत्रको नेतृत्वमा कृषि विकास सम्भव छ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै नेपालमा कृषि उद्यमशीलताको नयाँ युगको सुरुवात गरेको छ।

एईसी को स्थापना स्वयंमा एउटा दूरदर्शी कदम थियो। त्यतिबेला कृषि मुख्यतः निर्वाहमुखी थियो, बजारसँगको सम्बन्ध कमजोर थियो, र किसानहरू उत्पादन त गर्थे तर त्यसको उचित मूल्य र बजार पाउन कठिनाइ भोग्थे। यस्तो अवस्थामा एईसी ले नीति पैरवी, अध्ययन–अनुसन्धान र निजी क्षेत्रलाई कृषि क्षेत्रमा आकर्षित गर्ने प्रयासमार्फत एउटा सशक्त आधार तयार गर्‍यो।

mulpatra mulpatra mulpatra

यसले कृषि व्यवसायलाई केवल उत्पादनमा सीमित नराखी बजार, मूल्य शृंखला र उद्यमशीलतासँग जोड्ने काम गर्‍यो। अन्तर्राष्ट्रिय विकास साझेदारहरू जस्तै युएसएड, वल्र्ड बैंक, एसियन डेभलपमेन्ट बैंकको सहकार्यले एईसी लाई संस्थागत रूपमा बलियो बनायो र यसको प्रभाव विस्तार गर्न मद्दत गर्‍यो।

समयसँगै एईसी ले आफ्नो भूमिका विस्तार गर्दै आज देशकै अग्रणी कृषि व्यवसाय प्रवर्द्धन संस्थाको रूपमा स्थापित भएको छ। यसको सञ्जाल देशभर फैलिएको छ, जसले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू र हजारौं उद्यमीहरूलाई एकै प्लेटफर्ममा जोडेको छ।

एईसी द्वारा सञ्चालन गरिएको कृषि बजार सूचना प्रणाली (एमिस) ले बजारको पारदर्शिता बढाएको छ, जसबाट किसानदेखि व्यापारीसम्म सबैले समयानुकूल जानकारी प्राप्त गर्न थालेका छन्। यसका साथै व्यवसाय विकास सेवा, बजार तथा माग विश्लेषण, व्यापार मेला तथा प्रदर्शनी, र उद्यमशीलता विकास कार्यक्रमहरूले कृषि व्यवसायलाई थप गतिशील बनाएका छन्।

Image Source: © https://mulpatra.com

एईसी को कार्य केवल सेवा प्रदानमा सीमित छैनस यसले नीति निर्माण प्रक्रियामा समेत सक्रिय भूमिका खेल्दै आएको छ। नेपाल सरकारका विभिन्न समिति, फोरम र मञ्चहरूमा यसको औपचारिक प्रतिनिधित्वले निजी क्षेत्रको आवाजलाई नीतिगत तहसम्म पुर्‍याएको छ। यसले भन्सार तथा गैर भन्सार अवरोधहरूबारे बहस उठाउँदै कृषि व्यापारलाई सहज बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको छ।

उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य शृंखलामा काम गर्दै एईसी ले उत्पादक, व्यापारी र उद्यमीबीच सुदृढ सम्बन्ध स्थापना गरेको छ, जसले कृषि क्षेत्रलाई क्रमशः व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै लगेको छ।
यद्यपि, कृषि व्यवसायको यात्रामा चुनौतीहरू अझै प्रशस्तै छन्। धेरै उद्यमीहरूमा व्यवसायिक ज्ञान र सीपको कमी देखिन्छ, प्रभावकारी व्यवसाय योजना तयार गर्ने क्षमता सीमित छ, र बजारसँगको पहुँच अझै कमजोर छ।

वित्तीय संस्थाबाट सहज रूपमा ऋण प्राप्त गर्न नसक्ने अवस्था, उच्च ब्याजदर, धितोसम्बन्धी जटिलता, र गुणस्तर तथा ब्रान्डिङप्रति न्यून सचेतनाले पनि कृषि उद्यमलाई विस्तार हुनबाट रोकेको छ। स्थानीय स्तरमा व्यवसाय विकास सेवाको अभावले यी समस्याहरूलाई थप गम्भीर बनाएको छ।

यस्ता चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित एईसी ले भविष्यका लागि महत्वाकांक्षी योजना अघि सारेको छ। साना तथा मझौला उद्यमहरूका लागि इन्क्युबेशन सेवा विस्तार, कृषि स्टार्टअपहरूको प्रवर्द्धन, व्यवसाय योजना विकासमा सहयोग, र उत्पादक तथा उद्यमीबीच उत्पादक साझेदारी स्थापना यसका प्रमुख प्राथमिकताहरू हुन्।

‘बायब्याक एग्रिमेन्ट’ जस्ता अवधारणामार्फत बजार सुनिश्चितता गर्ने, वित्तीय संस्थासँग सहकार्य गरी लगानी पहुँच बढाउने, र बीमा सेवासँग जोड्ने प्रयासले कृषि व्यवसायलाई थप सुरक्षित र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, कृषि उत्पादनको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणिकरण, ब्रान्डिङ र निर्यात प्रवर्द्धनमा एईसी को विशेष ध्यान रहनेछ।

भण्डारण, प्रशोधन र पोस्ट–हार्भेस्ट व्यवस्थापन सुधार गर्दै मूल्य शृंखलामा हुने क्षति घटाउने योजना पनि यसको प्राथमिकतामा छ। उत्पादक, व्यापारी र उद्यमीबीच नियमित संवाद र सहकार्यलाई संस्थागत गर्दै बजार प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रयास जारी रहनेछ।

समग्रमा हेर्दा, एईसी नेपालको कृषि रूपान्तरणको महत्वपूर्ण संवाहक बनेको छ। यसले विगतमा आधार निर्माण गर्‍यो, वर्तमानमा त्यसलाई सुदृढ र विस्तार गरिरहेको छ, र भविष्यमा कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अघि बढिरहेको छ।

यदि यसको रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके, सरकारले एइसीसँगको समन्वयमा कार्य सक्ने हो भने, एईसी केवल एक संस्था मात्र होइन, नेपालको आर्थिक समृद्धिको प्रमुख आधारस्तम्भ बन्न सक्नेछ।

लेखकः कृषि उद्यम केन्द्रको सहसभापति तथा नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्य छन ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com